सल्यानमा विद्युत् कन्ट्रोल बक्स सर्टर भएर आगलागी हुँदा घर पूर्ण रूपमा जलेको छ। मंगलबार बिहान करिब ३ बजेतिर कुमाख गाउँपालिका– ५ झारकाँडाका ३६ वर्षीय विष्णु कुमाईंको घर जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
आगलागीबाट ७० हजार नगद, दुई तोला सुन, अन्नपात, लत्ताकपडा भाँडाकुँडा, महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।
मानवीय क्षति नभए पनि घर जल्दा सात लाख ४५ हजारबराबरको क्षति भएको उनले बताए। प्रहरी र स्थानीयको सहयोगमा घरमा लागेको आगो नियन्त्रणमा आइसकेको प्रहरीको भनाइ छ ।