प्रतिनिधिसभाकाे राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयककाे दफावार छलफलमा पत्रकारलाई निषेध गरेकाे छ । कांग्रेस सांसद दिलेन्द्र बडूकाे संयाेजकत्वमा उपसमिति बनाएर दफावार छलफल गरिरहेकाे समितिले सञ्चारकर्मीलाई प्रवेश निषेध गरेकाे हाे ।
उपसमिति संयाेजक बडू, पूर्वपत्रकारसमेत रहेका एमाले सांसद रघुजी पन्तकाे अडानमा पत्रकारलाई प्रवेश निषेध गरिएकाे हाे । सभापति रामहरि खतिवडाले केही सदस्यले नमानेकाले उपसमिति बैठकमा सञ्चारकर्मीलाई समावेश गर्न नसकिएकाे बताए । बैठकमा पत्रकारलाई नराख्न कानुन मन्त्रालयका सचिव उदयराज सापकाेटा र प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतमले पनि दबाब दिएका छन् ।
कर्मचारीकाे स्वार्थमा निजामती विधेयक बनेकाे र पत्रकारलाई प्रवेश निषेध गरिएकाे भन्दै समितिकै केही सदस्यले विराेध गरेका छन् । सदस्य राजेन्द्र पाण्डेले पत्रकार राेक्नु बेठिक भएकाे बताए । सदस्यहरूका अनुसार कर्मचारीले आफ्नाे हितमा कुलिङ पिरियड राख्न नहुनेदेखि विभिन्न लबिङ गरिरहेका छन् । जसलाई कांग्रेस–एमालेका सदस्यहरूले समर्थन गरेका छन् ।
उपसमितिमा बडू, ईश्वरी न्यौपाने, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, हितराज पाण्डे, चन्दा कार्की भण्डारी, बुद्विमान तामाङ, राजेन्द्र पाण्डे, अशाेक राई, प्रकाश अधिकारी, सर्वेन्द्रनाथ शुक्ल सदस्य छन् । यसअघि राज्य व्यवस्था समितिमा हृदयराम थानी नेतृत्वकाे उपसमितिमा भ्रष्टाचार निवारण र अख्तियार विधेयकमा खुला छलफल भएकाे थियाे । यसपटक कर्मचारीकाे स्वार्थमा निजामती विधेयकमा बन्द छलफल गरिएकाे हाे