दिक्तेलमा सिटिजन्स बैंकको नयाँ शाखा

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंकले २००औँ शाखा खोटाङको दिक्तेलमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रूपाकोट मझुवागढी नगरपालिका– १ मा सञ्चालनमा ल्याएको हो ।

योसँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाको संख्या २८ पुगेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्राहकलाई बैंकिङ सुविधा दिने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको बताए ।

सुविधासम्पन्न यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

नयाँ शाखा सञ्चालनको अवसरमा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवा पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था गरिएको पनि बैंकले जनाएको छ ।

नयाँ शाखा शुभारम्भ भएको दिनमा नै बैंकले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ९ मा सञ्चालनमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग उपलब्ध गराएको छ ।

सुझावित समाचार