ग्लोबल आइएमई बैंक र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबिच बैंकका ग्राहकलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन् ।
अस्पतालले बैंकका ग्राहकलाई अस्पतालको सेवा तथा औषधि–उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ । यस्तो छुट सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओपिडी र अपरेसनलगायतका सेवामा उपलब्ध हुने बताइएको छ ।
यस साझेदारीपश्चात् बैंकका ग्राहकले उचित दरमा अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा–सुविधा प्राप्त गर्ने अध्यक्ष पोखरेलले बताए । साथै, उनले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने स्पष्ट पारे । यसैगरी, बैंकका लुम्बिनी प्रदेश प्र्रमुख शिवाकोटीले दुवै संस्थाबिचको समझदारीले छुट सुविधासहित ग्राहक लाभान्वित हुने धारणा व्यक्त गरे ।