सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक सहकुलपति अर्थात् शिक्षामन्त्रीको अध्यक्षता बस्ने गरी कानुन निर्माण प्रक्रिया अघि बढेको छ।
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सबै विश्वविद्यालयमा प्रधानमन्त्रीको अध्यक्षतामा सिनेट बैठक बस्दा प्रधानमन्त्रीको समय नमिल्ने र बैठक बस्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै नयाँ व्यवस्था गर्न लागेको हो।
समितिले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक शिक्षामन्त्रीको अध्यक्षतामा बस्ने र दीक्षान्त समारोहको बैठक भने कुलपति अर्थात् प्रधानमन्त्रीकै अध्यक्षतामा बस्ने गरी कानुन बनाउनुपर्ने औँल्याएको छ। समितिका सभापति अम्मबरबहादुर थापाले यसो गर्दा प्रधानमन्त्रीलाई सहज हुने बताए। ‘सबै विश्वविद्यालयमा प्रधानमन्त्री जान पनि भ्याउनुहुन्न, त्यसैले कतिपय विश्वविद्यालयमा फरक अभ्यास पनि अपनाउनुपर्छ, त्यसैले हामीले यसबारेमा छलफल गरेका हौँ,’ उनले भने, ‘यसबाहेक अन्य तीनवटा विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्रीलाई अध्यक्षता नगराउने व्यवस्था पनि छ।’
यसअघि नै कानुन निर्माण भइसकेको नेपाल विश्वविद्यालय, मदन भण्डारी विश्वविद्यालयलगायतको सिनेट बैठक फरक-फरक किसिमको छ।