बुद्ध सर्किटमा मोनोरेलको सम्भाव्यताबारे छलफल

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

उद्योगी विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा विकासका विभिन्न योजना लुम्बिनी प्रदेश सरकारसमक्ष राखेका छन्। आगामी बजेटमा ती योजना समेट्न प्रदेश सरकारसँग उनले कुरा राखेका हुन्।

सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटेर उनले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न योजना प्रदेशको बजेटमा समेट्न माग गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए। प्रतिनिधिसभा सदस्य तथा उद्योगी चौधरीसँग प्रदेशको विकास निर्माणका बारेमा पनि छलफल भएको थियो।

सो अवसरमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासका सन्दर्भमा बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्ने सम्भावना रहेको बताएका थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा भएको छलफलमा मुख्यमन्त्री आचार्यले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनोरेल सञ्चालन गर्न सकिने आधार रहेको बताए। प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न सक्ने उनको भनाइ छ।

प्रदेश सरकारले मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने र निजी क्षेत्रलाई यसमा आकर्षित गर्ने योजना बनाएको आचार्यले बताए। ‘बुद्ध सर्किटको योजना प्रदेश सरकारले बनाएको छ। अब यहाँ मोनोरेल चलाउन सकिन्छ,’ उनले भने, ‘यसमा निजी क्षेत्रले लगानी गर्न सक्छ।’

मुख्यमन्त्री आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ‘ब्रान्डिङ’ गर्ने तथा विश्वभरका बौद्ध धर्मावलम्बीको पहिलो गन्तव्य स्थलका रूपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए। पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई जोडेर व्यापक योजना निर्माण गरिने पनि उनले उल्लेख गरे।

छलफलका क्रममा प्रतिनिधिसभा सदस्य चौधरीले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले स्वरोजगार प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा, पूर्वाधार निर्माण तथा लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिने गरी योजना समेट्न आग्रह गरेका थिए।

सुझावित समाचार