सत्यनिरूपण र बेपत्ता छानबिन आयोगका लागि पुनः ‘सर्च कमिटी’ गठन गर्न तीन दल सहमत

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनका लागि पुनः ‘सर्च कमिटी’ गठन गर्न मुख्य तीन दलका शीर्ष नेताहरू सहमत भएका छन्।

सिंहदरबारमा बसेको बैठकमा पुनः ‘सर्च कमिटी’ गठन गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षका मुख्य नेता सहमत भएकाे बैठकमा सहभागी प्रधानमन्त्री केपी ओलीका विज्ञसल्लाहकार अग्नि खरेलले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहित गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरू शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्रीका विज्ञसल्लाहकार खरेल सहभागी थिए।

‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्यनिरूपण र मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यहरूको नियुक्तिको लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउन सम्माननीय प्रधानमन्त्रीज्यूले दुवै दलका नेतासँग परामर्श गर्नुभयो। परामर्शबमोजिम अब सिफारिस समिति गठन गर्ने प्रक्रिया अगाडि बढ्छ,’ बैठकपछि खरेलले भने।

बैठकमा अघिल्लो सिफारिस समितिले बुझाएको प्रतिवेदनसमेत प्रस्तुत भएको खरेलले जानकारी दिए। बैठकमा अन्य विषयमा भने कुनै छलफल नभएको उनको भनाइ थियो।

राजावादीहरूको सक्रियताको विषयमा पत्रकारले सोधेको प्रश्नमा खरेलले भने, ‘त्यो आजको निम्ति तोकिएको विषय थिएन, त्यसकारण त्यसमा छलफल भएन।’
 

सुझावित समाचार