नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्ना सदस्यसहित जिल्लाभर क्रियाशील पत्रकार र सञ्चारकर्मीको दुर्घटना बिमा गरेको छ। प्रतिव्यक्ति दुई लाख रुपैयाँ प्रिमियम प्राप्त गर्ने गरी जिल्लाका ९९ जना पत्रकारहरूको दुर्घटना बिमा गरिएको हो।
बिमाका लागि बागलुङ नगरपालिका २ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गरेको छ भने नेको बिमा कम्पनीसँग सहकार्य गरिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिए। कार्यस्थलमा खटिने पत्रकार–सञ्चारकर्मी र सञ्चारमाध्यमका कर्मचारीहरूको दुर्घटना बिमा गरिएको थापाले बताए।
बागलुङ नगरपालिका– २ का वडाध्यक्ष सुरज बोसेलले कार्यस्थलमा खटिने पत्रकारको सम्भावित जोखिमलाई दृष्टिगत गरी वडा कार्यालयले बिमा कार्यक्रममा सहयोग गरेको जानकारी दिए। उनले आगामी वर्षहरूमा पनि पत्रकारहरूको दुर्घटना बिमाका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘रातदिन नभनी फिल्डमा खटिएका पत्रकारहरूको जोखिम कम गर्ने र केही भएमा तत्काल उपचार गराउन सकिने गरी बिमा गरिएको हो,’ वडाध्यक्ष बोसेलले भने, ‘यसबाट अन्यत्रका जनप्रतिनिधि, स्थानीय सरकारसमेतले आमनागरिक र पेसागत क्षेत्रका व्यक्तिको स्वास्थ्य र सुरक्षामा ध्यान दिन सन्देश जानेछ।’
पहिलो चरणमा दुई वर्षका लागि उक्त बिमा गरिएको हो। आइतबार महासंघका अध्यक्ष थापा, वडाध्यक्ष बोसेल र नेको बिमा कम्पनीका शाखा प्रबन्धक अन्जिला श्रेष्ठले पत्रकारलाई बिमा ‘पोलिसी’ हस्तान्तरण गरेर बिमा कार्यक्रमको थालनी गरिएको थियो। श्रेष्ठले पत्रकारको बिमाले आमनागरिकलाई पनि सचेत बनाउने बताइन्। गत मंसिर २८ गतेको अधिवेशनबाट निर्वाचित महासंघ कार्यसमितिको बैठकले पत्रकारको दुर्घटना बिमा गर्ने निर्णय गरेको थियो।
महासंघका सचिव नारायण रिजालले पत्रकारहरूको पारिवारिक स्वास्थ्य बिमाका लागि पनि पहल भइरहेको बताए। ‘पत्रकारहरूको पेसागत हकहित र व्यावसायिक सुरक्षामा महासंघ प्रतिबद्ध छ,’ उनले भने, ‘विषयगत तालिमलगायत पत्रकारको दक्षता अभिवृद्धिका कार्यक्रममा हामी केन्द्रित छौँ।’
महासंघले पत्रकारहरूका लागि लक्षित गरी लेखनवृत्ति कोष पनि सञ्चालन गरेको छ। कोषमा हालसम्म चार लाख रुपैयाँभन्दा बढी संकलन भएको छ।