अछाममा चार वर्षमा ३८ क्षयरोगीको मृत्यु

सोमबार, ११ चैत, २०८१
डिजिटल संस्करण

नियमित औषधि नखाँदा अछाममा ३८ जना क्षयरोगीको मृत्यु भएको छ। आर्थिक वर्ष ०७८/७९ देखि ०८१/०८२ सम्ममा ३८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार आव ०७८/७९ मा १३ जना, ०७९/८० मा आठजना, ०८०/८१ मा १२ जना र ०८१/८२ को फागुनसम्म पाँचजना गरी ३८ जनाको मृत्यु भएको देखिन्छ। उनीहरूसहित बिचमै उपचार छाड्ने अन्य क्षयरोगीको संख्या ५५ छ। त्यसमा पनि अधिकांश कामको खोजीमा भारत जानेहरू रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दीपेन्द्र जोशीले बताए।

सोमबार विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय अछाममा आयोजित अन्तर्क्रियामा सरोकारवाला माझ सार्वजनिक गरिएको विवरणअनुसार चालू आवको पुससम्ममा ४२ महिला र ६६ पुरुष गरी १०८ जना नयाँ क्षयरोगी पत्ता लागेका छन्। उनीहरूमध्ये सबैभन्दा बढी ६४ वर्षमाथिका २९ जना छन् भने ५५ देखि ६४ वर्ष उमेरका २१ जना, ४५ देखि ५४ वर्षका १६ जना, ३५ देखि ४४ वर्षका १९ जना, २५ देखि ३४ वर्ष उमेरका १० जना, १५ देखि २४ वर्षका १० जना, पाँचदेखि १४ वर्ष उमेरका एकजना र चार वर्षमुनिका दुईजना क्षयरोगी छन्।

यो तथ्यांकमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिन्छ। स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाका अनुसार जिल्लाका विभिन्न ९७ वटा स्वास्थ्य संस्थालाई क्षयरोग उपचार केन्द्रका रूपमा तोकेर उपचार भइरहेको छ। त्योसँगै जिल्लाको बयालपाटा अस्पतालमा औषधि प्रतिरोधी क्षयरोग उपचार हुन्छ भने अन्य १६ ठाउँमा खकार परीक्षण गरी जाँच गर्ने गरिएको छ। ढुंगानाले अछाममा बिरामी पत्ता लगाउनै मुस्किल हुने गरेको र पत्ता लागेकाहरूसमेत विभिन्न भ्रमका कारण भारत पलायन हुने समस्या रहेको बताए। जसले बिचमै उपचार छाड्नेको तथ्यांक बढेको उनको भनाइ छ। 

खोक्दा, हाच्छ्युँ गर्दा र हाँस्दा हावाको माध्यमबाट यो रोग बढी सर्ने भएकाले यसबारे जनचेतना विस्तार गर्न सकिए क्षयरोग नियन्त्रणमा आउने ढुंगानाले बताए। सन् २०५० मा देशलाई नै क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ यस जिल्लामा पनि विभिन्न गतिविधि भइरेको भए पनि जनचेतनाको अभावले चुनौतीहरू यथावत् देखिन्छ।
 

सुझावित समाचार