हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गामा कोटिहोम सञ्चालन गर्न दिने निर्णय

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारीको संकल्प एवं अगुवाइमा पोखरामा आयोजना हुने भनिएको ‘गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ आयोजनास्थललाई लिएर तीन महिनादेखि जारी विवाद सकिएको छ । पोखरा महानगरपालिकाले आठ सर्तसहित पोखरा– १७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गामा कोटिहोम सञ्चालन गर्न दिने निर्णयसँगै विवाद टुंगो लागेको हो । 

यसअघि आयोजकले पोखराको प्रमुख पर्यटकीय स्थल फेवाताल किनारको बाराहीघाट र हल्लनचोकस्थित क्याम्पिङ चोकको जग्गामा कोटिहोम गर्ने तयारी गरेको थियो । तर, पोखरा महानगरले त्यहाँ कोटिहोम गर्न नदिने अडान लिएपछि विवाद चर्किएको थियो । विवादबिच आयोजकले २३ फागुनमा बाराहीघाटस्थित जग्गामा भूमिपूजन गर्न लाग्दा महानगरका प्रहरी र आयोजक पक्षबिच झडपसमेत भएको थियो ।

अनुमति नलिई कोटिहोमका लागि भूमिपूजन गर्न लागेको भन्दै महानगरले रोक्न र जसरी पनि भूमिपूजन गर्ने अडानपछि विवाद र झडपको स्थिति सिर्जना भएको थियो । सो क्रममा महानगर पक्षका ११ र आयोजक पक्षका सातजना घाइते भएका थिए । त्यसपछि २६ फागुनमा जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, सुरक्षा निकाय र कोटिहोम आयोजकसहित सरोकारवालाको बैठकले कोटिहोमका लागि हाल आयोजकले गर्ने भनेको स्थानमा गर्न नदिने र यसका लागि अर्को स्थानमा उपयुक्त जग्गा खेजी गर्ने निर्णय गरेको थियो । त्यसपछि जग्गा खोजीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीका एक, महानगरका दुई र आयोजक फाउन्डेसनका दुई गरी पाँच सदस्यीय समिति गठन भएको थियो ।

 आठ सर्तसहित अनुमति
पोखरा महानगरपालिकाले आठ सर्त पालना गर्ने गरी कोटिहोम सञ्चालन गर्न अनुमति दिएको हो । महानगरले आयोजकलाई वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने, कार्यक्रममा उत्सर्जन भएको फोहोर आयोजकले नै व्यवस्थापन गर्नुपर्ने, स्थानीय बासिन्दाको आवतजावत एवं साँधसँधियारबाट गुनासो नआउने व्यवस्था आयोजक स्वयंले मिलाउनुपर्ने, सार्वजनिक स्थलमा राखिएका सूचना, पोस्टर तथा ब्यानर कार्यक्रम समाप्त भएपछि आयोजकले हटाउनुपर्ने, सूचना, पोस्टर तथा ब्यानर राख्दा तथा कार्यक्रम सञ्चालन गर्दा सवारीसाधनको आवागमनलाई अवरोध गर्ने गरी सञ्चालन गर्न नपाइने, रोडक्रस स्वागतद्वार निर्माण गर्न तथा प्रचारप्रसारका लागि माइकिङ गर्न नपाइने, नेपाल सरकार तथा प्रचलित कानुबाट निषेधित वस्तु तथा सेवाको प्रचारप्रसार, बिक्री–वितरण एवं प्रयोग गर्न नपाइने, अनुमतिपत्रमा उल्लेख नभएका विषय प्रचलित कानुनबमोजिम हुनेछन् भन्ने सर्तसहित कोटिहोम गर्न अनुमति दिएको हो ।

यसअघि आयोजकले कोटिहोम सञ्चालनका लागि पोखरा महानगरपालिकासँग कुनै अनुमति नलिई कोटिहोममा प्रयोग हुने समिधाका लागि भन्दै महानगर क्षेत्रका ऐतिहासिक चौतारा र सडकछेउमा रहेका वरपीपल, समीलगायत रुखका हाँगा मुठार्ने काम गरेपछि महानगरपालिका र आयोजकबिच विवाद सुरु भएको थियो ।

सुझावित समाचार