महायज्ञको नाममा दलितको घर भत्काएको घटनाको संसदमा भर्त्सना

संसदीय छानबिन गरेर दोषीलाई कारबाही गर्न सांसदहरूको माग

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्यहरूले सिराहामा महायज्ञ गर्ने नाममा दलितको घरमा डोजर लगाएर भत्काउनेलाई कारबाही गर्न माग गरेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा सांसदहरूले घटनाबारे संसदीय छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् । कांग्रेस सांसद विष्णुदेवी पुडासैनीले संविधानमा उल्लेख हक अधिकारविपरीत महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपराधिक कार्य भन्दै  घटनामा संलग्नलाई कारबाहीको माग गरिन् । 

माओवादी सांसद भुवनबहादुर सुनारले संसदीय छानबिनको माग गरे । उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरेर घटनाको निष्पक्ष छानबिन गरी न्याय दिनुपर्ने उनको भनाइ छ । एकीकृत समाजवादीका घनश्याम रिजालले घटनामा संलग्न सबैलाई कारबाहीको माग गरे ।

‘दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ,’ उनले भने, ‘यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानित गरिएको छ । यो संविधान र कानुनविपरीतको काम हो ।’ निर्वाचित जनप्रतिनिधिबाटै जातीय विभेदजस्तो जघन्य अपराध हुनुले नेपाली समाजको चेतनाको धरातल उदांगो पारिदिएको बताए । उनले घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गरिरहेको देखिएकाले सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण पनि गराए । 

समाजवादीकै सांसद मदनकुमारी शाह (गरिमा)ले जातीय छुवाछुतमुक्त मुलुक घोषणा भएको १८ वर्ष हुँदासमेत यस्ता घटना हुनु दुःखद भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरिन् । अन्य सांसदले पनि घटनामा संलग्न जोसुकै भए पनि नियन्त्रणमा लिन र दलितमाथिको विभेद अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

See More On

सुझावित समाचार