आज विश्व क्षयरोग दिवस : बर्सेनि थपिने क्षयरोगका साढे ६८ हजार बिरामीमध्ये ३० हजार जाँदैनन् अस्पताल

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

क्षयरोगको दर घटाउन र उपचारमा पहुँच बढाउन सरकारले पञ्चवर्षीय योजना बनाएर काम गरेको भए पनि हरेक वर्ष झन्डै आधा बिरामी अस्पतालको पहुँचबाहिर छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष ६८ हजार पाँच सयको संख्यामा क्षयरोगी थपिन्छन् र त्यसमा ३० हजार उपचारमा आउँदैनन् । तथ्यांकअनुसार सबैभन्दा धेरै क्षयरोगी काठमाडौंमै छन् । 

यति ठुलो संख्यामा क्षयरोगी उपचारमा नआउनुलाई विशेषज्ञहरूले डरलाग्दो अवस्था भनेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ क्षयरोग तथा छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले उपचारमा नआउने बिरामीको संख्या धेरै हुँदा डराउनुपर्ने अवस्था रहेको बताए । उपचारको दायरा बढाउन सकिएन भने क्षयरोग भयावह हुन सक्ने उनको चेतावनी छ । ‘हाम्रो अध्ययनअनुसार वार्षिक क्षयरोगीको संख्या ६८ हजार हाराहारी हो । तर, ठुलो संख्यामा बिरामी उपचारमा आएका छैनन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘यो निकै डरलाग्दो विषय हो । कोही बिरामी उपचारमै नआउनु भनेको उसले अर्को व्यक्तिलाई सार्ने डर हुनु हो ।’

डा. शाहका अनुसार विविध कारणले बिरामी उपचारमा आएका छैनन् र उनीहरूलाई अस्पतालसम्म ल्याउन विशेष अभियान चलाउन आवश्यक छ । ‘क्षयरोग लागेको भनेर समाजले तिरस्कार गर्ने डरमा कतिपय बिरामी पहुँचमा आउँदैनन् । कोही गरिबीका कारण नआएका पनि हुन सक्छन् । यसबारे हामीले विशेष अभियान नै सञ्चालन गर्ने भनेका छौँ,’ उनले भने, ‘केन्द्रले गरेको सर्वेक्षणअनुसार क्षयरोगका बिरामी लुुकेर बस्नेसमेत गरेका छन् । क्षयरोग संक्रमित व्यक्तिहरू लुकेर बस्दा थप भयावहको अवस्था हुन सक्छ ।’

हाल नेपालभर क्षयरोग उपचार गर्ने स्वास्थ्य संस्थाहरूको संख्या ६ हजार २४१ रहेको छ । त्यसमध्ये आठ सयवटा स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार तथा औषधि वितरण हुन्छ । हाल यो रोगको उपचारका लागि सरकारले १४९ वटा स्थानीय तहबाट पनि औषधि वितरण र उपचार सेवा दिइरहेको छ । केन्द्रका निर्देशक डा. तिवारीका अनुसार सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोगमुक्त गराउने नेपालको अभियान छ । तर, पछिल्लो १० वर्षयता क्षयरोग न्यूनीकरणमा नेपालले गरेको काम सन्तोषजनक छैन । सन् ०१५ देखि ०२५ सम्मको तथ्यांकअनुसार केन्द्रले क्षयरोगका बिरामी घटाउन गरेको प्रयास कमजोर देखिएको छ । १० वर्षमा नेपालले १५ प्रतिशत मात्रै क्षयरोग नियन्त्रण गरेको छ । विश्वमा हरेक वर्ष २४ मार्चमा क्षयरोग दिवस मनाइन्छ । 

केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार ठुलो संख्यामा बिरामी पहुँचबाहिर हुनु गम्भीर चुनौतीको विषय हो । ‘बिरामी उपचारको पहुँचमा नआउनु सबैभन्दा ठुलो चुनौती हो । रोग लागेकाको संख्या र उपचारमा आउनेको संख्याबिच ठुलो खाडल छ । हामी त्यसलाई मेट्ने प्रयास गरिरहेका छौँ,’ उनले भने । उनका अनुसार क्षयरोग नियन्त्रणका लागि सरकारले छुर्याउने बजेट पनि अपर्याप्त छ । केन्द्रलाई सरकारले क्षयरोग निवारण तथा उपचारका लागि वार्षिक रूपमा एक अर्ब २० करोड रुपैयाँ बजेट छुट्याउने गरेको छ । त्यस्तै, सरकारले पालिकास्तरबाट पनि क्षयरोग नियन्त्रणका लागि यस वर्ष सबै पालिकाका पठाउने गरी जम्मा २० करोड रुपैयाँ विनियोजन गरेको छ । ‘क्षयरोग नियन्त्रणमा काम गर्न नसक्नुको एउटा कारण बजेटको अभाव पनि हो, पर्याप्त बजेट नहुँदा रणनीतिअनुसार काम गर्न सकिएको छैन,’ उनले भने । 

नेपालमा वार्षिक १६ हजारको मृत्यु
डब्लुएचओको सन् २०२४ को अध्ययनअनुसार नेपालमा हरेक वर्ष ६८ हजार नयाँ क्षयरोगी थपिन्छन् र यसमा ३० हजार अस्पताल आउँदैनन् । कुल जनसंख्याको अनुपात हेर्दा एक लाख जनसंख्याबराबर २२९ जनामा क्षयरोग देखिने गरेको छ । अध्ययनअनुसार नेपालमा हरेक वर्ष १६ हजार मानिसले क्षयरोगकै कारण मृत्युवरण गर्छन् । एक लाख जनसंख्याबराबर ५४ जनाको क्षयरोगका कारण मृत्यु हुन्छ । क्षयरोग लागेकामध्ये सबैभन्दा बढी ७२ प्रतिशतको फोक्सोमा र २८ प्रतिशतको अन्य अंगमा देखिएको छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले बताए । 

डा. नवीनप्रकाश शाह, वरिष्ठ क्षयरोग 
तथा छातीरोग विशेषज्ञ, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र

हाम्रो अध्ययनअनुसार वार्षिक क्षयरोगीको संख्या ६८ हजार हाराहारी हो । तर, ठुलो संख्यामा बिरामी उपचारमा आएका छैनन् । यो निकै डरलाग्दो विषय हो । कोही बिरामी उपचारमै नआउनु भनेको उसले अर्को व्यक्तिलाई सार्ने डर हुनु हो ।

डा. श्रीराम तिवारी
निर्देशक, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र

बिरामी उपचारको पहुँचमा नआउनु सबैभन्दा ठुलो चुनौती हो । रोग लागेकाको संख्या र उपचारमा आउनेको संख्याबिच ठुलो खाडल छ । हामी त्यसलाई मेट्ने प्रयास गरिरहेका छौँ ।

सुझावित समाचार