कपिलवस्तु प्रहरीले निवेदन लेख्न क्युआर र सहयोगीको व्यवस्था गरेपछि सेवाग्राही लाभान्वित

आइतबार, १० चैत, २०८१
डिजिटल संस्करण

गत सोमबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिन गएका राजकुमार गुप्ता निवेदन लेख्ने लेखनदास नभेटेर अलमलमा देखिन्थे। प्रहरी सहायक हवल्दार कमल आरसीले मुस्कुराउँदै भने, ‘तपाईँले क्युआर कोड स्क्यान गरेर मोबाइलबाटै फर्म डाउनलोड गर्न सक्नुहुन्छ।’ 

मोबाइल चलाउन नजान्ने बताएपछि सहायक हवल्दार आरसी आफैँले तुरुन्तै निवेदन लेखिदिएकाे गुप्ताले बताए। जिल्ला प्रहरी कार्यालयले सेवाग्राहीलाई उजुरी दिन क्युआरमार्फत अनलाइनबाटै फर्म डाउनलोड र सहयोगी प्रहरीको समेत व्यवस्था गरेपछि सेवाग्राही लाभान्वित भएका छन्।

निवेदन लेख्न असहज मान्ने सेवाग्राहीलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालयले नयाँ पहल गरेको हो। प्रहरी कार्यालयभित्र विभिन्न निवेदनका ढाँचाहरू क्युआर कोडका माध्यमबाट उपलब्ध गराइएको छ। जसले प्रविधि जान्नेहरूलाई सजिलो बनाएको छ। तर, प्रविधि प्रयोग गर्न नजान्नेहरूका लागि पनि कार्यालयले सहयोगीको व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले सेवा प्रवाहलाई छरितो बनाउन यो सेवा सुरु गरेको बताउँदै भने, ‘कसैले निवेदन लेख्न सक्दैनन् भने हामी आफैँ सहयोग गर्छौँ। यसले नागरिकलाई झन्झट कम हुन्छ, अनि प्रहरी सेवाप्रति उनीहरूको थप विश्वास बढ्छ।’ गत मंसिरदेखि सुरु भएको यो सेवाबाट हालसम्म ८३ सेवाग्राही लाभान्वित भएका छन्।

लेखनदास वा वकिलबाट निवेदन लेखाउँदा पाँच सयदेखि दुई हजार रुपैयाँसम्म खर्च हुन्थ्यो। विपन्न नागरिकले उजुरीका लागि निवेदन दिन पनि सापटी खोज्नुपर्ने अवस्था हुन्छ। तर, जिल्ला प्रहरी कार्यालयले सेवाग्राहीका यी समस्या सधैँका लागि अन्त्य गरेको छ। कपिलवस्तु प्रहरीले अहिले आफ्नो मातहतका मुद्दा दर्ता हुने सबै कार्यालयबाट उक्त सेवा दिइरहेको छ।

सुझावित समाचार