जनताको आक्रोश अवस्थाविरुद्ध हो, व्यवस्थाविरुद्ध होइन : नेता केसी

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण
जनताको आक्रोश अवस्थाविरुद्ध हो, व्यवस्थाविरुद्ध होइन : नेता केसी

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहीनता र दण्डहीनताविरुद्ध जनआक्रोशमार्फत सडकमा कोलाहल पोखिएको भन्दै यसको समाधान भाषण र प्रतिक्रियाले मात्रै नहुने बताएका छन्।

अहिलेको आक्रोश व्यवस्थाविरुद्ध नभएर अवस्थाविरुद्ध भएको उनले स्पष्ट पारेका छन्। पार्टी कार्यालय बिपीनगर सानेपामा आयोजित कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आइतबार बोल्दै केसीले जनतामा व्याप्त निराशा, अविश्वास र असन्तुष्टिले निकास खोजिरहेको उल्लेख गरे।

‘सडकको कोलाहल भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहीनता र दण्डहीनताको एकमुस्ट जनआक्रोश हो। यो वर्तमान व्यवस्थाविरुद्ध भन्दा पनि अवस्थाविरुद्धको आवाज हो,’ केसीले लिखित बुँदा पेस गर्दै भने, ‘आक्रोशित जनतालाई आकर्षित गर्न अब भाषण र प्रतिक्रियाले मात्र पुग्दैन, यी विकृतिको कठोरताका साथ अन्त्य गर्ने युद्धस्तरीय कार्यक्रमले मात्र सम्भव छ।’

केसीले अहिले नेपाली कांग्रेस दक्षिणपन्थी जागरणको धार तथा सत्ताभित्र र बाहिर (सत्ताभितर र सत्ताइतर)का वामपन्थी धारको बिचमा रहेको पनि उल्लेख गरे। ‘कांग्रेसले आफ्नो मध्यमार्गी सक्रियतालाई भुल्नुहुँदैन। पार्टी विधानको सर्वोच्चता, विधि र पद्धतिलाई हामीले अपनाउन सकेनौँ भने निरंकुशताको विरोध गर्ने हक गुमाउन पुग्छौँ,’ उनले भने।

नेता केसीले सडकमा ओर्लेका जनता पनि नेपाली भएको उल्लेख गर्दै सडकलाई बेवास्ता नगर्न सुझाव दिए। ‘यो सडक गतिविधिलाई वास्ता नगर्ने, सत्तातिर मात्र ध्यान दिने हो भने अफगानिस्तान, श्रीलंका, बंगलादेश, सिरियाका शासकहरूको नियतिबाट हामी अपवाद हुन सक्दैनौँ,’ उनले भने।

विशाल जनाधार, गौरवशाली राजनीतिक इतिहास, सारा संरचना र संयन्त्र भएर पनि कांग्रेस तदर्थवादी कार्यशैलीबाट चलिरहेको केसीले आरोप लगाए। ‘तर, तदर्थवादी शैलीले न शक्ति आर्जन र शक्ति सञ्चय होला, बरु भएको शक्ति नै ह्रास भएर जान्छ,’ उनले भने।

अर्को प्रसंगमा केसीले एसिया–प्यासिफिक ग्रुप (एपिजी) मातहतको फाइनेन्सियल एक्सन टास्क फोर्सले दिएको प्रतिवेदनका आधारमा नेपाल ग्रे लिस्टमा परेको सन्दर्भ पनि बैठकमा राखे। ‘गत वर्षभन्दा एक अंकले तल झरेको भ्रष्टाचार सूचकांकबाट गुज्रिरहेकोले, अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वसनीयता र साख गुम्दै गएको छ,’ उनले भने, ‘ऋणको भारी र भ्रष्टाचारको महामारीले देश आक्रान्त छ। अब युद्धस्तरमा पार्टीले कोर्स करेक्सनको बाटो नलिने हो भने प्रतिक्रान्तिको आँधीले कसैलाई दया–माया नगर्ने निश्चित छ।’

उनले नेपाली कांग्रेस इतिहासमा सदैव संकटमोचक शक्तिको भूमिकामा रहँदै आएको, हरेक परिवर्तनलाई सुरक्षित अवतरण गर्दै आएको उल्लेख गर्दै भने, ‘अब देशलाई ध्रुवीकरण, द्वन्द्व र विभाजनबाट बचाउनु हाम्रो दायित्व हो।’

सुझावित समाचार