माध्यमिक शिक्षा परीक्षा (एसइई) ०८१ मा अनियमितता रोक्न प्रशासनले कडाइ गरे पनि परीक्षा केन्द्रहरूमा मोबाइल प्रयोग गरी चिट चोरी गर्ने प्रयास रोक्न कठिन भएको छ।
परीक्षाको तीन दिनमै जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूबाट १२३३ मोबाइल फोन र स्मार्टवाच बरामद भएको हो। पहिलो दिन ४२४ मोबाइल, दोस्रो दिन ३४० मोबाइल र २ स्मार्टवाच, आइतबार तेस्रो दिन ४६९ मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
यमुनामाई गाउँपालिकाको एक परीक्षा केन्द्रमा निरीक्षक पक्राउ परेका छन् भने मौलापुरमा चिट पुर्याउने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। दुईजना गार्डलाई परीक्षामा सहयोग गरेको आरोपमा निलम्बन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपककुमार रायका अनुसार परीक्षामा चिट चोरी रोक्न निगरानी थप कडा पारिएको छ। प्रशासनले परीक्षालाई मर्यादित बनाउन थप सुरक्षा रणनीति अपनाउने जनाएको छ।