उत्तरतर्फको प्रमुख नाका तातोपानीदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आयात भयो, निर्यात हुनै सकेन
अन्तर्राष्ट्रिय व्यापार हुँदै आएका देशका मुख्य २८ भन्सार कार्यालयमध्ये दश ठाउँबाट निर्यात हुन नसकेको देखिएको छ । ती दश भन्सार कार्यालयबाट पौने ३७ अर्बको मालवस्तु आयात हुँदा निर्यात भने एक रुपैयाँको पनि हुन नसकेको भन्सार विभागको तथ्यांक छ ।
चालू आर्थिक वर्षको आठ महिनामा मुख्य २८ भन्सार कार्यालयबाट १३ खर्ब तीन अर्ब ७३ करोड रुपैयाँबराबरको आयात–निर्यात व्यापार भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल, सुक्खा बन्दरगाह र अन्तर्राष्ट्रिय भन्सार नाकासमेत गरी १० भन्सार कार्यालयबाट ३६ अर्ब ७२ करोड ८९ लाख रुपैयाँबराबरको आयात हुँदा निर्यात हुन नसकेको विभागले जनाएको छ ।
विभागका अनुसार उत्तरतर्फको प्रमुख नाका तातोपानीदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्यात हुन सकेको छैन । त्यस्तै, काठमाडौंमा रहेको चोभार सुक्खा बन्दरगाहबाट समेत निर्यात हुन सकेको छैन । निर्यात शून्य भएका अन्य भन्सार कार्यालयमा जनकपुर, महेशपुर, राजविराज, सुनसरी, सुथौली, ठाँडी र त्रिवेणी भन्सार कार्यालय रहेका छन् ।
छिमेकी मुलुक चीनसँगको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय नाका तातोपानीबाट आयात व्यापार सहज भए पनि निर्यात हुन नसकेको व्यवसायीहरूको गुनासो आएका छन् । सरकारी प्रतिनिधिले गरेको अवलोकनपछि निर्यातमा रहेको समस्या हटाउन दुवै पक्ष सहमत भएका थिए । यद्यपि, समस्या समाधान हुन सकेको छैन । चालू आवको आठ महिनामा तातोपानीबाट २९ अर्ब ८० करोडबराबरको मालवस्तु आयात भएको छ ।
चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको तीन वर्ष बितिसक्यो । तर, यहाँबाट आयात व्यापार बढ्न थाले पनि निर्यात भने शून्य छ । नाकासँग नजोडिएको नेपालकै पहिलो सुक्खा बन्दरगाहले आयात–निर्यात व्यापारलाई थप सहज गर्ने तथा लागत घटाउने अपेक्षा गरिएको थियो । यो बन्दरगाहको सञ्चालनबाट काठमाडौं र आसपासबाट हुने निर्यात प्रवद्र्धनमा समेत योगदान मिल्ने अपेक्षा गरिएको थियो । तर, सञ्चालनको साढे दुई वर्ष बितिसक्दासमेत निर्यातका गतिविधि हुन सकेको छैन । चालू आवको आठ महिनामा चोभारबाट ८५ करोड ९७ लाख रुपैयाँबराबरको आयात हुँदा निर्यात शून्य छ ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईले नेपालको निर्यात क्षमता कमजोर भएकै कारण थुप्रै भन्सार नाकाबाट निर्यात हुन नसकेको बताए । उत्पादन बढाउन सकेमा निर्यात जुन नाकाबाट भए पनि फरक नपर्ने उनको भनाइ छ । ‘सामान्यतः आयातकर्ताले जुन बाटो वा नाका भएर मालवस्तु ल्याउँदा सस्तो पर्छ, त्यही प्रयोग गर्छन्, जस्तो कि चीनबाट गाडी, स्याउ र गार्मेन्टबाहेक ठुलो परिमाणमा अन्य मेसिनरी र सामग्री कोलकाता हुँदै आउँछ,’ उनले भने, ‘कतिपय सन्दर्भमा भने नाकाको तत्कालीन अवस्था र पूर्वाधारका कारणसमेत व्यापार प्रभावित हुन्छ ।’
सर्वाधिक आयात–निर्यात वीरगन्जबाट
फागुन मसान्तसम्ममा सबैभन्दा धेरै आयात–निर्यात वीरगन्ज भन्सार कार्यालयबाट भएको विभागको तथ्यांक छ । वीरगन्ज भन्सारले नेपालको कुल आयातमा ३४.०५ प्रतिशत र कुल निर्यातमा ३३.६७ प्रतिशत हिस्सा ओगटेको छ । सबैभन्दा बढी आयात हुने दोस्रो भन्सार कार्यालयमा भैरहवा रहेको छ, जसले कुल आयातमा १४.५८ प्रतिशत हिस्सा ओगटेको छ । धेरै आयात हुने भन्सार कार्यालयमध्ये तेस्रोमा रहेको सुक्खा बन्दरगाह सिर्सियाले १२.७८ प्रतिशत र चौथोमा रहेको विराटनगरले ११.५ प्रतिशत हिस्सा ओगटेका छन् । त्यस्तै, दोस्रोमा विराटनगरले कुल निर्यातमा २५.४४ प्रतिशत हिस्सा ओगटेको छ । तेस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले १४.५७ प्रतिशत र चौथोमा रहेको मेचीले ११.३२ प्रतिशत हिस्सा ओगटेका छन् ।
