बाढीले बगाएको झोलुंगे पुल निर्माण नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

असोज ११ र १२ मा सुनकोशी नदीमा आएको बाढीले नेपालथोकदेखि कोलन्जोर घाटसम्म रहेका ११ वटा झोलुंगे पुलमा क्षति पुर्याएको थियो । पुलमा क्षति पुगेको सात महिना बित्दा पनि अझै मर्मत–सम्भार नहुँदा आवतजावत गर्ने सयौँ नागरिक समस्यामा परेका छन् । 

बाढीले क्षति पुर्याएको अवस्थामा रहेका केही झोलुंगे पुलमा विद्यार्थी, वृद्धवृद्धा र बिरामीहरू जोखिम मोलेर वारपार गर्न बाध्य छन् । केही पुलमा स्थानीय गाउँपालिकाले काठको फल्याक र बाँस प्रयोग गरेर अस्थायी रूपमा आवतजावत खुलाएका छन् । ती पुलमा निकै जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको खाँडादेवी गाउँपालिका– १, राकाथुुमका शेरबहादुर माझीले बताए । 

सिन्धुलीको झाँगाझोली र रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुम जोड्न सुनकोशी नदीमा निर्माण भएको पुलबाट दैनिक २० जना बालबालिका रामेछापबाट सिन्धुलीको झाँगाझोलीमा रहेको गुठबजार माध्यमिक विद्यालयमा अध्ययन गर्न जान्छन् । अध्ययन गर्न जाने अर्को वैकल्पिक बाटो नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन् । 

बाढीले खुर्कोट र सित्खाको पुल बगाएको थियो भने अन्य पुलमा धेरै ठुलो क्षति गरेको थियो । जसमध्ये सिन्धुलीको चैनपुर र रामेछापको पुछिघाट जोड्ने पुलमा सबैभन्दा धेरै क्षति भएको छ । स्थानीय गाउँपालिकाले उक्त पुल मर्मत गर्न सक्ने अवस्था नभएपछि माथिल्लो निकायमा पत्राचार गरिएको खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले जानकारी दिइन् । 

सुनकोशीमा क्षति पुुगेका पुल मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास विभागले बजेट तयार गरी अर्थ मन्त्रालयमा माग गरेको पूर्वाधार विकास विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले जानकारी दिए । मागअनुसारको बजेट प्राप्त भएपछि क्षतिग्रस्त झोलुंगे पुल दुई चरणमा पुनर्निर्माणको काम गर्ने गरी योजना अघि सारिएको उनले बताए ।

सुझावित समाचार