मनाङको फु गाउँमा सशस्त्रको ‘बिओपी’

२० रोपनी सरकारी जग्गा दीर्घकालीन रूपमा सशस्त्र प्रहरीलाई उपलब्ध

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको हिमालपारिको जिल्ला मनाङमा सशस्त्रको बिओपी स्थापना गरिने भएको छ ।  मनाङ र चीनको सीमानाकामा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिने भएको हो । 

नार्पाभूमि गाउँपालिका–४ फु गाउँमा बिओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए । मनाङ र चीनको सिमानामा अन्तरसीमा अपराध नियन्त्रण र उच्च भूभागमा हुन सक्ने विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य गर्न बिओपी स्थापना गर्न लागिएको उनको भनाइ छ । आचार्यले बिओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रूपमा भाडामा सशस्त्र प्रहरीलाई नेपाल सरकारले उपलब्ध गराइएको बताए । सरकारी जग्गा आवश्यकताअनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा जग्गा उपलब्ध गराइएको आचार्यले बताए । ‘हालसम्म सडक सञ्जालले नजोडिएको फु गाउँमा बिओपी स्थापना हुने भएसँगै अन्तर्राष्ट्रिय सिमानामा राज्यको उपस्थिति बढ्ने र नागरिकले सुरक्षासगै राज्यको प्रत्याभूत गर्नेछन्,’ उनले भने ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेक्वा मनाङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीले बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी खटाइने बताए । ‘फू क्षेत्र मनाङको विकट गाउँ हो । बिओपी स्थापनापछि शान्ति सुरक्षा, गैरकानुनी गति, जडिबुटी तथा अखेटोपहारको ओसारपसारमा नियन्त्रण, विपद् व्यवस्थापन र पर्यटकको उद्धारमा  थप प्रवभाकारी हुनेछ,’ उनले भने । 

जग्गा भाडाको प्रमाणपत्र प्रजिअ आचार्यले बिहीबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेक्वा मनाङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् । नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो । नार्पाभुमिको फू गाउँ पुग्न सदरमुकाम चामेबाट पैदलमा दुई दिन लाग्छ । हालसम्म नेपाल भारत सिमानातर्फ दुई सय ४४ र नेपाल–चीन सिमानातर्फ १० वटा गरी दुई सय ५४ वटा बिओपी स्थापना गरिएको छ ।

See More On

सुझावित समाचार