झापामा ठूलो परिणाममा गाँजा फेला परेको छ। इलामबाट झापातर्फ ल्याउने क्रममा सशस्त्र प्रहरीले ठूलो परिणाममा गाँजा फेला पारेको हो। मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–४ मा सशस्त्र प्रहरीले करिब एक हजार ६ सय ३६ केजी गाँजासहित दुई ट्रक नियन्त्रणमा लिएको हो।
गाँजासहित ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नम्बर २ गण झापाले जनाएको छ। इलामबाट झापातर्फ ट्रकमा गाँजा आइरहेको सूचनाका आधारमा जाँच गर्दा ठूलो परिणाममा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। शुक्रबार सशस्त्र प्रहरी बलको नम्बर १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईको कमान्ड र नम्बर २ गणअन्तर्गतको सुरक्षा बेस क्याम्प टिमाईको टालीले को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकमा जाँच गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेको हो।
गाँजा ओसारपसारमा संलग्न धनकुटा शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र इलाम माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगाबहादुर बस्नेतलाई समेत पक्राउ गरिएको छ । उनीहरुलाई शुक्रबार मध्यरातमा जिल्ला प्रहरी कार्यालय झापा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गाँजा ओसारपसरमा संलग्न दुई जना अझै फरार रहेका छन्। पक्राउ परेकाको आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने उनले बताए।