चोरीका २७१ थान मोबाइल, १५ थान ल्यापटप र नाै थान ट्याबसहित प्रहरीले एक गिरोहलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले मोबाइल, ल्यापटपजस्ता सामान चोरेर रिपेयरिङ सेन्टरमा बिक्री गर्ने गिरोहका सातजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका– ५ घर भई ललितपुर सानागाउँ बस्ने ३५ वर्षका प्रमोद परियार, खानीखोला गाउँपालिका– ५ घर भई भक्तपुर ठिमी बस्ने २६ वर्षका गुनराज न्यौपाने र रौतहट चन्द्रनिगाहपुर नगरपालिका– १ घर भई भक्तपुर ठिमी बस्ने ३० वर्षका हेमन्त रानामगर रहेका छन्।
यसैगरी, दोलखा शैलुङ गाउँपालिका– ६ घर भई भक्तपुर जगाती बस्ने २८ वर्षका शम्भु विश्वकर्मा, कालिन्दोक गाउँपालिका– ५ घर भई काठमाडौं चाबहिल बस्ने २१ वर्षका सबिन पाण्डे, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ११ स्थायी घर भई भक्तपुर गठ्ठाघर बस्ने २२ वर्षका राजेश चालिसे र काठमाडौं सिनामंगल घर भई भक्तपुर ठिमी बस्ने २० वर्षका प्रकाश कटवाललाई पनि प्रहरीले पक्राउ गरेको छ।
बिहीबार साँझ ६ बजेतिर भक्तपुरको ठिमीबाट कोटेश्वर आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको मोबाइल कोटेश्वर चोकनजिकैबाट चोरेर भागेको भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गिरोहलाई पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा उनीहरूले चोरी गरेको मोबाइल भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ। बरामद भएका मोबाइल, ल्यापटप र ट्याबसहित रिपेयरिङ सेन्टरका सञ्चालकलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।