प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरू पुरस्कृत भएका छन् । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह उनीहरूलाई सम्मान गरेका हुन् ।

पुरस्कृत हुनेमा टेलिमेडिसिनतर्फ डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा. विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा. आभास मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा) छन् । यस्तै, चिकित्सा क्षेत्रतर्फ डा. ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् ।

नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । त्यसवेला प्रधानमन्त्री केपी ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोहीबराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको थियो ।

उक्त कोषबाट प्रत्येक वर्ष दुईजना प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो। २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन। अहिले पाँच वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीले समाजमा सकारात्मक काम गर्नेलाई राज्य र समाजले सम्मान गर्नुपर्नेमा जोड दिए ।

सुझावित समाचार