‘अवैध भेप भाटभटेनीको होइन’

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा गंगा कार्की र मनीष झाले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएका छन् । बिहीबार उनले प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको नभएको दाबी गरेका छन् । सांसदद्वय कार्की र झाले बिहीबार प्रतिनिधिसभामा बोल्ने क्रममा उक्त भेप भाटभटेनीको भएको आरोप लगाएका थिए । प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरू तथ्यमा आधारित हुनुपर्ने अध्यक्ष गुरुङको भनाइ छ । 

‘तातोपानी भन्सारबाट सिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र पर्दैन । तातोपानीबाट सिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनि राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो,’ उनले भनेका छन्, ‘मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आमनागरिकमा अपिल गर्न चाहन्छौँ ।पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने नै छ भन्ने विश्वास भाटभटेनीको रहेको छ ।’

सुझावित समाचार