नारायणघाट–बुटवल सडककाे पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्रे

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

चार लेनमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटरमध्ये पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ ।

नारायणघाट–बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा  ५८.७ प्रतिशत भौतिक प्रगति भएको छ । गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ । यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन् ।

निर्माण पूरा भएका पुलमा लिंकरोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले बताए । विनयी खोलाको पुल आगामी मनसुनअगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । केही हप्ताअिघ अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भएका छन् ।

सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङका सहव्यवस्थापक राकेश झाले ४२ ठाउँमा सडक विस्तार जारी रहेको बताए ।

‘हामीले सडक विस्तारसँगै पुल निर्माणमा जनशक्ति केन्द्रित गरेका छौँ,’ उनले भने, ‘सडक कालोपत्र र पुल निर्माणसँगै कल्भर्ट, सबबेस, बेस, फिलिङ, ड्रेनेज, ग्याबिनलगायतमा ६५० भन्दा बढी कामदार परिचालन गरेर काम गरिरहेका छौँ ।’ आगामी वैशाखभित्रमा दुम्कीबाससम्म कालोपत्र गरिसक्ने लक्ष्य छ । ‘दाउन्नेमा पूर्वीखण्डमा पर्ने सबैभन्दा कठिन ठाउँको डाँडाको भित्तो कटान पूरा भएको छ,’ उनले भने । रासस

सुझावित समाचार