मार्च ११ मा बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) का लडाकुले क्वेटाबाट पेसावर जाँदै गरेको ‘जाफर एक्सप्रेस रेल’ अपहरण गरेर कब्जामा लिए । ३६ घण्टाको गतिरोधपछि पाकिस्तानी सुरक्षा बल बिएलएका कार्यकर्ता मार्न र सयौँ बन्धकलाई मुक्त गर्न सफल भयो । सरकारका अनुसार, अपरेसनको क्रममा कम्तिमा आठ नागरिकले ज्यान गुमाए ।
अपहरणको खबर आएलगत्तैदेखि पाकिस्तानी अधिकारीले ‘आतंकवादी घटना’ भनेर अफगानिस्तान र भारतलाई दोष दिन थाले । यो घटना पाकिस्तानी अधिकारीले अफगानिस्तानसँग पाकिस्तानको तिक्त बन्दै गएको सम्बन्धलाई कसरी ‘आतंकवादविरुद्धको युद्ध’को भाषामा प्रस्तुत गरिरहेका छन् भन्ने पछिल्लो उदाहरण हो । रेल अपहरण हुनुभन्दा लगभग तीन महिनाअघि पाकिस्तानी लडाकु विमानले अफगानिस्तानको खोस्त र पक्तिका प्रान्तहरूमा बमबारी गरेका थिए । बमबारीमा महिला र बालबालिकासहित कम्तीमा ४६ जनाको मृत्यु भएको थियो । धेरैजसो हताहत पाकिस्तानको खैबर–पख्तुनख्वा क्षेत्रका विस्थापित मानिस थिए ।
पाकिस्तानले अफगान भूभागमा लुकेर बसेका तहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) का लडाकुलाई लक्षित गरिरहेको दाबी गर्दै अफगान सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघनलाई जायज ठहर्याएको छ । विगत दुई वर्षदेखि इस्लामाबादले काबुललाई पाकिस्तानी भूभागमा आक्रमण गर्ने ‘आतंकवादी’लाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । यो त्यही तर्क हो, जुन संयुक्त राज्य अमेरिकाले आफ्नो तथाकथित ‘आतंकवादविरुद्धको युद्ध’को समयमा मुस्लिम देशभर हवाई आक्रमण, अपहरण, लक्षित हत्या, आदि सञ्चालन गर्न प्रयोग गरेको थियो । यसो गर्दा अमेरिकाले मुस्लिम देशको सार्वभौमिकता, नागरिक तथा लडाकुुबिचको भिन्नता, समानुपातिक प्रतिक्रिया र युद्धबन्दीहरूको अधिकारलाई पुष्टि गर्ने विश्वले समर्थन गरेका सबै भावनालाई उल्लंघन गर्यो ।
आन्दोलनलाई ‘आतंकवादी’ भनेर खारेज गर्न र मेलमिलापको कुनै पनि बाटो अस्वीकार गर्न सजिलो छ । तर, अमेरिकी उदाहरणले देखाएजस्तै यो दृष्टिकोणको अन्त्य सुखद हुँदैन ।
अमेरिकी सेना र गुप्तचर निकायले सर्वसाधारणलाई सक्रिय लडाकुको रूपमा हेरे, जुन ‘उच्च–मूल्यवान् लक्ष्य’ पछ्याउँदा अपरिहार्य थियो । सम्पूर्ण देश र नागरिकले सशस्त्र समूहद्वारा गरिएका ‘अतिवादी’ हमलाको मूल्य चुकाए । तिनीहरूले आगामी दिनमा अझै मूल्य चुकाउनेछन् । किनभने, अमेरिका अफगानिस्तान र इराकबाट पछि हटेको हुन सक्छ, तर यसको अभ्यासको विरासत अझै पनि छ र यस क्षेत्रका सरकारहरूले सजिलै अँगालेका छन् ।
पाकिस्तानको सरकार तिनीहरूमध्ये एक हो । अफगानिस्तानमा २० वर्षसम्म अमेरिकी कब्जाको अवधिमा पाकिस्तानले अफगान तालिबानलाई ‘आतंकवादी’को रूपमा हेर्न अस्वीकार ग¥यो र समूहलाई आश्रय र समर्थन जारी राख्यो । तैपनि आज पाकिस्तानी अधिकारी टिटिपी र बिएलएलाई ‘आतंकवादी’ समूह र अफगान तालिबान सरकारलाई ‘आतंकवाद’ को प्रायोजकको बिल्ला लगाउँछन् ।
उनीहरूले यी स्थानीय विद्रोहलाई राजनीतिक रूपमा प्रेरित तर्कसंगत प्रतिस्पर्धीको रूपमा हेर्न अस्वीकार गर्छन् । पाकिस्तानले यी समूहसँग कसरी व्यवहार गर्ने भन्ने छनोट उसको आन्तरिक मामिला हो । तर, हालैको अमेरिकी साहसिक कार्यले केही पाठ दिएको छ, जसलाई ध्यानपूर्वक मनन गर्नुपर्छ । अमेरिकाले ‘आतंकवाद’को व्यापक परिभाषा दियो, जसमा स्वदेश र विदेशमा रहेका मुस्लिम संदिग्ध भए । अफगानिस्तानमा यसले आफ्नो शत्रु अल–कायदालाई तालिबान र कहिलेकाहीँ अफगान नागरिकसँग जोड्यो ।
कथित तालिबान सदस्यलाई कैद र यातनाले तालिबान लडाकुको उत्साह बढायो र हिंसामा वृद्धि भयो । अफगानिस्तान र पाकिस्तानका नागरिक समुदायमा अन्धाधुन्ध ड्रोन आक्रमणले सार्वभौमसत्ताको उल्लंघन मात्र गरेन, युवालाई अफगान तालिबान र टिटिपीमा सामेल हुन प्रोत्साहितसमेत गर्यो । अमेरिकासँग वार्ता गर्ने तालिबानका अधिकांश प्रयास सन् २०२१ सम्म सफल भएनन् । अन्ततः दुई दशकको कब्जा र युद्धबाट थकित मुद्रा लिएर हार स्वीकार गर्दै वासिंटनले स्वदेश फर्किने निर्णय गर् यो ।
आन्दोलनलाई ‘आतंकवादी’ भनेर खारेज गर्न र मेलमिलापको कुनै पनि बाटो हेर्न अस्वीकार गर्न सजिलो छ । तर, अमेरिकाको ‘वार अन टेरर’ उदाहरणले देखाएजस्तै यो दृष्टिकोणको अन्त्य सुखद हँुदैन । अमेरिकी मिडिया संस्था ‘ड्रप साइट’ले रिपोर्ट गरेझैँ अमेरिकालाई ‘आतंकवाद’ विरुद्धको अर्को युद्धमा तान्ने प्रयास गर्नुको सट्टा पाकिस्तानी अधिकारीले अमेरिकी अनुभवबाट पाठ सिक्नुपर्छ । तिनीहरूले टिटिपी र बिएलएजस्ता समूहबारे उलेख्य जानकारी नभएको अज्ञानताको बहाना गर्न सक्दैनन् । तिनीहरू पाकिस्तानी नागरिक हुन्, जसको स्पष्ट रूपमा राज्यसँग गुनासो छ ।
पाकिस्तानी सरकारले यी समूहको माग सुन्नुपर्छ र उनीहरूसँग वार्ता गर्ने बाटो खोज्नुपर्छ । यसले बिएलए र टिटिपीले सञ्चालन गर्ने क्षेत्रमा नागरिक जनसंख्याको पीडालाई स्वीकार गर्नुपर्छ । यसले ‘आतंकवाद विरुद्धको युद्ध’ को आडमा अफगानिस्तानको सार्वभौमसत्ता उल्लंघन गर्ने र तालिबान सरकारलाई आफ्नै सुरक्षा असफलताहरूको लागि बलिको बोका बनाउने कार्य रोक्नुपर्छ । यदि पाकिस्तानी सेनाले हालैको इतिहासबाट पाठ नसिक्ने निर्णय गर्छ र अमेरिकाको पाइला पछ्याउँछ भने उसले धेरै दुर्दशा सामना गर्नुपर्छ ।
– अलजजिराबाट