स्वास्थ्य मन्त्रालयले तीनवटा अस्पतालबाट मस्तिष्क पक्षघातको औषधि वितरण सुरु गरेको छ । अमेरिकाको डाइरेक्ट रिलिफ च्यारिटी कम्पनीको सहयोगमा आएको औषधि वीर अस्पताल, टिचिङ र भरतपुर अस्पतालबाट निःशुल्क वितरण थालिएको हो । यो औषधि मस्तिष्क घातमध्ये रक्तनली थुनिएर गम्भीर अवस्थाका बिरामीलाई प्रयोग गरिन्छ । हाल विश्वका धनी देशहरूको समेत यो औषधि महँगो शुल्क तिरेर किनेको पाइन्छ । तर, नेपाल सरकारले भने अनुदानमा औषधि पाएको हो ।
कम्पनीले पहिलो चरणमा आठ सय भायल औषधि पठाएको छ । यो औषधि ३२० जना बिरामीका लागि पुग्छ । औषधिको मूल्य पाँच लाख हजार ८९ अमेरिकी डलर पर्छ । तर, स्वास्थ्य मन्त्रालयले पहल गरेका कारण सो औषधि निःशुल्क रूपमा आएको मन्त्री प्रदीप पौडेलले बताए । ‘यो औषधि निकै महँगो छ, सर्वसाधारणको पहुँचमा छैन, त्यसैले कम्पनीसँग सम्झौता गरेर नेपालमा ल्याएका हौँ,’ उनले भने, ‘यसले सर्वसाधारणलाई बढी लाभ हुनेछ ।’
रक्तनली थुनिएर मस्तिष्क घात भएका बिरामीलाई चार घण्टाभित्र यो औषधि खुवाउन सकेमा बिरामी पुरानै अवस्थामा पुग्न सक्छन् । यो औषधि प्रयोग गर्दा न्युरोलोजिस्टको सल्लाह र रोहवरमा हुनेछ । बिरामीको सबै प्रकारको जाँच गरेर मात्रै प्रयोग हुनेछ । मन्त्रालयले कम्पनीसँग पाँच वर्षलाई यो औषधि निःशुल्क दिने सम्झौता गरेको छ । तर, हाल आएको औषधि एक वर्षका लागि मात्रै पुग्छ । सुरुमा यो औषधि वीर, टिचिङ र भरतपुर अस्पतालबाट वितरण भए पनि बिस्तारै अन्य अस्पतालबाट पनि दिने योजना मन्त्रालयको छ । स्वास्थ्यमन्त्री पौडेलले राज्यकोषबाट किनेरसमेत उपलब्ध गराउन नसक्ने किसिमको यो औषधि निःशुल्क दिन लागिएको बताउँदै यसले नागरिकको ज्यान जोगाउने बताए । हाल नेपालमा वार्षिक रूपमा ६० हजारलाई मस्तिष्क घात हुने गरेको छ ।