उद्योगमन्त्री भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबिच भेट, दुईपक्षीय सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मिहेल पपसोइले भेट गरेका छन्। बिहीबार दिउँसो भएको भेटमा दुवै देशको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त भएको उद्योगमन्त्री भण्डारीको सचिवालयले जनाएको छ।

भेटका क्रममा मन्त्री भण्डारीले सन् १९९३ मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपाल र मोल्डोभाबिच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरेका थिए। कूटनीतिक सम्बन्ध स्थापनाको ३२ वर्षमा मोल्डोभाका उपप्रधानमन्त्रीस्तरको पहिलो आधिकारिक भ्रमण भएकाले कूटनीतिक सम्बन्धको दृष्टिकोणबाट महत्त्वपूर्ण उपलब्धि मात्र नभई आपसी सहकार्य र आर्थिक वृद्धिका नयाँ सम्भावनाहरू अन्वेषण गर्ने अवसर पनि रहेको भन्दै मन्त्री भण्डारीले खुसी व्यक्त गरे।

मन्त्री भण्डारीले सम्बन्ध थप उचाइमा पुग्ने गरी आगामी दिनहरूमा दुवै देशबाट उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिनुपर्ने बताएका थिए।

मोल्डोभाका उपप्रधानमन्त्री पपसोइले दुवै देशबिच धेरै समानता रहेको र जलवायु परिवर्तन, कृषिको औद्योगिकीकरण र यान्त्रीकरण, शैक्षिक र सांस्कृतिक आदान-प्रदानजस्ता क्षेत्रमा साझेदारीको सम्भावना रहेको बताएका थिए। साथै, नेपाली नागरिकलाई मोल्डोभामा रोजगारीको सम्भावना रहेको जानकारी दिँदै उनले थप साझेदारीको पहल गर्न सकिने धारणा राखेका थिए।

सुझावित समाचार