प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँगाउँमा सिंहदरबार पुर्याएको बताएका छन्।
बिहीबार नेपाल नगरपालिका संघको ३२औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो संघर्ष र बलिदानस्वरूप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट पारे।
‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन्, तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन। त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन। जनतालाई सेवा दिने नजिकको सरकार यही हो,’ उनले भने, ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ। यसमा तीनै तहका सरकारबिच आवश्यक सहकार्य र समन्वय हुनेछ।’
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्ष्य गर्दै राजतन्त्रकालमा लादिएका निरंकुशतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिए।