जिल्ला विपत् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी तथा विपत् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृह मन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार उक्त रकम एक हजार ४७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ । जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्नाथ गाउँपालिकाको भूकम्प प्रभावितको तथ्यांक अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरूका लागि भने रकम नआएको उनले बताए ।
उनले त्रिवेणी नगरपालिकामा २८ लाख २५ हजार, बुढीगंगा गाउँपालिकालाई ८६ लाख र बुढीनन्दा नगरपालिकालाई रु. १३ लाख ५० रकम हस्तान्तरण गरिएको बताए । साथै गौमूल गाउँपालिकामा १३ लाख ७५ हजार, खप्तड छेडेदहमा दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकालाई दुई लाख २५ हजार गरी कुल तीन करोड ६८ लाख २५ हजार रकम जिल्लामा आएको छ ।
मनसुनजन्य विपत् प्रभावितका लागि पनि रकम आइसकेको उनले बताए । मनसुनजन्य विपतबाट बुढीगंगा गाउँपालिका, त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिकालगायतका पालिकामा उक्त रकम पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।