बाराको गौरीशंकर क्याम्पसमा अनेरास्ववियुका बालकृष्ण हुमागाईं विजयी

बिहिबार, ७ चैत, २०८१
डिजिटल संस्करण

बारामा पहिलोपटक निजगढ नगरपालिका– ९ स्थित गौरीशंकर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्ष पदमा अनेरास्ववियुका बालकृष्ण हुमागाईं विजयी भएका छन्। नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट अध्यक्ष पदका उम्मेदवार हुमागाईंले निकटतम प्रतिद्वन्द्वी नेविसंघका दावा लामा बोम्जनलाई तीन मतले पछि पार्दै जित हात पारेका हुन् । 

हुमागाईंले १३५ र बोम्जनले १३२ मत प्राप्त गरेका छन्। अखिल क्रान्तिकारीका अध्यक्षका उम्मेदवार उज्ज्वल प्रसाईंले भने ५९ मत मात्र गरे । सचिव पदमा नेविसंघकी प्रवना लामा विजयी भइन् । लामाले १२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी प्रेक्षा उप्रेतीले ११७ मत प्राप्त गरिन् । क्रान्तिकारीबाट सचिव पदका उम्मेदवार विशाल तिमल्सिनाले ८१ मत प्राप्त गरेका छन् । 

त्यसैगरी, कोषाध्यक्षमा पनि नेविसंघकै कुँवर विजयी भएका छन् । कुँवरले १३७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी ललिता सापकोटाले एक सय  मत प्राप्त गरिन् ।  क्रान्तिकारीबाट कोषाध्यक्ष उम्मेदवार स्मृति उप्रेतीले भने ७० मत प्राप्त गरिन् । 

प्रत्यक्षतर्फको पाँचजना सदस्यमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन् । मंगलबार दिउँसोबाट सुरु भएको गणनाको अन्तिम मपरिणाम बुधबार राति ९ः३० मा  सार्वजनिक भएको थियो । 

समानुपातिकतर्फ नेविसंघले नै सबैभन्दा बढी मत पाएको छ । उसले १३५ मत प्राप्त गर्दा अनेरास्ववियुले ११७  र अखिल क्रान्तिकारीले ७७ मत पाएको छ । कुल ३६८ जना मतदाता विद्यार्थीमध्ये ३३३ जनाले मतदान गरेका थिए ।
 

सुझावित समाचार