दुतेर्तेको गिरफ्तारी : फिलिपिन्सका दुई राजनीतिक परिवारबिचको झगडाको उपज

बुधबार, ६ चैत, २०८१
डिजिटल संस्करण

कुनै वेला खुलेआम मानिस मार्ने, विरोधीलाई ‘हिटलिस्ट’मा राखेको घोषणा गर्ने फिलिपिन्सका पूर्व राष्ट्रपति रोद्रिगो दुतेर्तेलाई लागुऔषधविरुद्धको ‘क्रूर युद्ध’का क्रममा मानवविरुद्धको अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले पक्राउ गर्यो । कुनै वेला दन्डनायक भनेर चिनिएका दुतेर्तेले अब हेगमा मानवताविरुद्धको अपराधको मुद्दाको सामना गर्नुपर्ने भएको छ । दुतेर्तेले ६ वर्षसम्म फिलिपिन्समा शासन चलाए । उक्त समयमा उनले लागुऔषधविरुद्धको निर्मम कदम चलाए । आलोचकलाई खुलेआम मार्ने धम्की दिए । यस अवधिमा उनले पोपदेखि पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामासम्मका विश्व नेतालाई हदैसम्मको छुद्र टिप्पणी गरे । 

पूर्वअभियोजक, संसद् सदस्य र मेयरसमेत रहेका दुतेर्तेको राजनीतिक उदय दक्षिणी फिलिपिन्सको दाभाओ सहरबाट भएको थियो । सो नगरमा मेयर हँुदा चलाएको क्रुर नीति केन्द्रमा पनि दोहोर्याउने लोकप्रिय वाचासहित उनी २०१६ मा राष्ट्रपति निर्वाचित भए । ‘लागुपदार्थको कुलतमा रहेका तिमीहरू सबैलाई म साँच्चै मार्नेछु,’ उनले २०१६ मा आफ्नो प्रचार भाषणका क्रममा एक विशाल भिडलाई सम्बोधन गर्दै भने, ‘मसँग धैर्य छैन । मेरो कुनै मध्य मार्ग छैन । या त तिमीहरूले मलाई मार वा तिमीहरूलाई म मार्नेछु ।’

सत्तामा पुगेपछि उनले लागुपदार्थ तस्करहरूलाई उन्मूलन गर्न एक बृहत् अभियान चलाए । जसलाई अधिकार समूहले ‘मृत्यु दस्ता’ भन्ने गरेका छन् । अभियानको एक अंशको रूपमा प्रहरी र दुष्ट बन्दुकधारीले गोली चलाउँदा गरिब बस्तीका धेरै युवा मारिए । दुव्र्यसनीविरुद्धको उनको ‘कथित युद्धमा’ प्रहरीले ६ हजार मानिस मारिएको बताएको छ । तर, अधिकारवादी समूहले मृत्यु हुनेको संख्या ३० हजारसम्म पुग्न सक्ने बताएका छन् । सुरक्षाकर्मी र दुव्र्यसनकर्ताको दोहोरो भिडन्तमा निर्दोष सर्वसाधारण पनि परेका छन् । दुतेर्तेको रगतले पोतिएको राष्ट्रपतीय शासनकाल सन् २०२२ मा समाप्त भयो । अदालती कागजातअनुसार तीन वर्षपछि लागुऔषधविरुद्धको युद्धमा मारिएका पाँच पीडितका लागि केवल आठजना प्रहरीलाई दोषी ठहर्याइएको थियो । 

दाभाओका मेयर र राष्ट्रपति रहँदा दुतेर्तेले गरेको ‘मानवताविरुद्धको अपराध’को आइसिसीले अनुसन्धान सुरु गरेको छ । दुतेर्तेले लामो समयदेखि मानव अधिकार उल्लंघनको आरोपलाई अस्वीकार गर्दै आएका छन् । लागुऔषध मुद्दा घरेलु कानुन प्रवर्तनका लागि भएको उनी दाबी गर्छन् । आफू विदेशी क्षेत्राधिकारका अगाडि नझुक्ने उनले बारम्बार बताउँदै आएका छन् । आफ्नो गिरफ्तारीको दुई दिनअघि उनले हङकङका समर्थकलाई सम्बोधन गर्ने क्रममा आइसिसीको कटु आलोचना गरेका थिए । ‘मलाई आइसिसीले वा अरू केहीले वारेन्ट जारी गरेका छन् । यीनले लामो समयदेखि मलाई पछ्याइरहेका छन् । तर मैले के गल्ती गरेँ र उनीहरू मेरा पछि आएका ?’ पक्राउअघि उनले भने ।

अकस्मात् पक्राउ
तर, अचानक परिस्थितिले अर्को मोड लियो । अधिकारीहरू हङकङबाट दुतेर्ते फर्कने प्रतीक्षामा थिए । स्वदेश फर्किनेबित्तिकै उनी मनिलाको मुख्य विमानस्थलमा पक्राउ परे । उनी पक्राउको समाचारले धेरैजना स्तब्ध भए । यो कदमलाई न्यायतर्फको पहिलो कदमको रूपमा हेरिएको छ । लागुऔषध युद्धका परिवार सदस्य गुमाएका हजारौँ पीडित परिवारको यस खुसीमा प्रार्थना सभामा भाग लिन चर्चमा भेला भए । आइसिसीले दुतेर्तेले हिरासतमा ‘आत्मसमर्पण’ गरेको र सुनुवाइ ‘उचित समयमा’ हुने बताएको छ । उनी अदालतमा कहिले उपस्थित हुनेछन् भन्ने स्पष्ट गरिएको छैन । रोटरडममा अवतरण गर्नुअघि दुतेर्तेले आफ्नो फेसबुक पेजमा एक अवज्ञाकारी भिडियो सन्देश जारी गरेका थिए । ‘म प्रहरी र सेनालाई भन्दै छु कि तिमीहरू आफ्नो काम गर । म आफ्नो जिम्मेवारी बहन गर्नेछु,’ उनले भने, ‘यो लामो कानुनी प्रक्रिया हुनेछ । म मेरो देशको सेवा गरिरहनेछु ।’

अहिले नै किन पक्राउ ?
दुतेर्तेको गिरफ्तारी सम्भवतः फिलिपिन्सका दुई राजनीतिक परिवारबिचको झगडाको उपज हो । दुतेर्ते परिवार यसअघि देशको चर्चित मार्कोस राजनीतिक राजवंशसँग मिलेर चुनाव लडेको थियो । यही मिल्तीको परिणाम स्वरूप गत निर्वाचनमा उनकी छोरी सारा दुतेर्ते कार्पियोले वर्तमान राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको उप–राष्ट्रपतिको रूपमा चुनाव लडेकी थिइन् । तर, पछिल्लो समय दुवै नेताबिचको सम्बन्ध निक्कै बिग्रिसकेको छ । उनीहरू सार्वजनिक रूपमा आलोचना र दुव्र्यवहारमा उत्रिएका छन् । 

अक्टोबरमा दुतेर्ते कार्पियोले दुई घण्टाको प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपतिविरुद्ध गुनासोहरूको एक सूची प्रसारण गरिन् । त्यसक्रममा उनले ‘मार्कोसको टाउको काट्न चाहेको’ धम्कीसमेत दिइन् । त्यसपछि नोभेम्बर २३ मा एक अनलाइन पत्रकार सम्मेलनमा उनले मार्कोस, उनकी श्रीमती र सभामुख मार्टिन रोमुआल्डेजलाई मार्न एक हत्यारासँग सम्झौता गरेको दाबी गरिन्, जुन मजाक थिएन । 

दुतेर्तेले सन् २०१९ मा फिलिपिन्सलाई आइसिसीबाट अलग गरेका थिए । तर, कुनै पनि राज्यले सदस्यता अवधिमा गरेका अपराधको अनुसन्धान गर्ने दायित्व अदालतको अधिकार क्षेत्रभित्र पर्छ । उपराष्ट्रपतिसँगको विवादबिच राष्ट्रपति मार्कोसले दुतेर्तेलाई पक्राउ गर्न इन्टरपोलको अनुरोध पालना गर्न आफू बाध्य भएको बताए । ‘इन्टरपोलले सहयोग माग्यो भने हामी बाध्य छौँ, किनभने हामीसँग इन्टरपोलसँग प्रतिबद्धता छ, जुन हामीले पूरा गर्नुपर्छ । यदि हामीले आइसिसीलाई सहयोग गरेनौँ भने तिनीहरूले अब विदेशमा रहेका फिलिपिनो भगौडाहरूसँग सम्बन्धित अन्य मुद्दामा हामीलाई मद्दत गर्नेछैनन्,’ मार्कोसले भने ।

ह्युमन राइट्स वाच (एचआरडब्लु) का लागि फिलिपिन्सका अनुसन्धानकर्ता कार्लोस कोन्डेले दुतेर्तेको द्रुत गिरफ्तारी र निष्कासन एक ‘सुखद आश्चर्य’ भएको बताए । यसले धेरैलाई अचम्मित पारेको उनले प्रतिक्रिया दिए । ‘लागुऔषधविरुद्धको युद्धका परिवार सदस्य गुमाएका हजारौँ पीडितले फिलिपिन्सको न्याय संयन्त्रमा विश्वास गुमाएका छन् । त्यसैले, उनीहरूले आइसिसीमा आफ्नो अपेक्षा टिकाएको देखिन्छ,’ कोन्डेले सिएनएनलाई भने । नोबेल पुरस्कार विजेता मारिया रेसाले भनिन् कि दुतेर्तेको गिरफ्तारी देशको लागि एक प्रमुख क्षण हो र यो कदम फिलिपिन्समा वर्षौंदेखिको दण्डहीनताको अन्त्य गर्न सकिन्छ भन्ने संकेत हो । 

‘फिलिपिन्सका लागि यो ऐतिहासिक छ किनकि मानवताविरुद्धको अपराधमा फिलिपिन्सका राष्ट्रपतिलाई पहिलोपटक पक्राउ गरिएको छ । इन्टरपोलको नेतृत्वमा भएको गिरफ्तारीले वास्तवमा राष्ट्रपति दुतेर्तेको नेतृत्वको विद्यमान दण्डहीनता अन्त्य गर्यो,’ सिएनएनका मनिलाका पूर्वब्युरो प्रमुख तथा समाचार साइट र्यापलरका सिइओ तथा संस्थापक रेसाले भने ।

मानव अधिकार अभियानकर्ता अरोरा पारोङका अनुसार धेरै अधिवक्ता र लागुऔषधविरुद्धको युद्धका पीडितका परिवारका सदस्य दुतेर्तेलाई पक्राउ गरिएको खबरले हर्षित छन् । ‘खुसी, आशा र चिन्ताको मिश्रित अनुभूति छ । तथापि पक्राउको परिणाम के हुनेछ भनेर ठ्याक्कै थाहा छैन,’ आइसिसीका लागि फिलिपिन्स गठबन्धनकी सह–अध्यक्षसमेत रहेकी पारोङले भनिन् । आइसिसीको पछिल्लो कदम न्यायका लागि एक कष्टकर लामो बाटो हुने उनले चेतावनी दिइन् । ‘सुनुवाइले लामो समय लिनेछ । अन्तर्राष्ट्रिय फौजदारी अदालतमा दोषी ठहर हुन वर्षौं लाग्नेछ । लागुऔषधविरुद्धको रक्तपातपूर्ण युद्धका पीडित र पीडित परिवारका लागि पर्खनु साँच्चै गाह्रो छ,’ उनले थपिन् ।

के हो आइसिसी ?
नेदरल्यान्ड्सको हेगमा रहेको आइसिसीले आफ्ना सदस्य राष्ट्रका भूभागमा हुने युद्ध अपराध, मानवताविरुद्धको अपराध, नरसंहार र आक्रामक अपराधको अनुसन्धान र सुनुवाई गर्छ । दुतेर्तेको गिरफ्तारी र स्थानान्तरण आइसिसीका लागि एक महत्वपूर्ण विजय हो । कतिपय अवस्थामा दोषीलाई अदालत आफैँले गिरफ्तारी गर्न सक्दैन । वारेन्ट कार्यान्वयन गर्न राष्ट्रिय सरकारको सहयोगमा भर पर्छ, जुन प्रायः घरेलु राजनीति र राजनीतिक इच्छाशक्तिमा निर्भर हुन्छ । त्यसो त आइसिसीको ‘वान्टेड लिस्ट’मा रहेका धेरै व्यक्ति फरार छन् र आफूविरुद्ध लगाइएका गम्भीर आरोपबाट अविचलित छन् । 

–सिएनएनबाट

सुझावित समाचार