इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुनेकाे संख्या ४१३ पुग्यो

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

इजरायलले गाजापट्टीमा पुनः बमबारी सुरु गरेको छ । इजरायली सेनाको हवाई फौजले मंगलबार बिहानै जनवरी १९ मा युद्धविराम लागू भएपछिको सबैभन्दा ठुलो हवाई आक्रमण गर्यो । 

इजरायली आक्रमणमा परी ४१३ भन्दा बढी प्यालेस्टिनी मारिएको र ५६२ प्यालेस्टिनी घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीले बताएका छन् । आक्रमणमा मर्ने अधिकांश महिला, बालबालिका र वृद्ध रहेको उद्धारकर्ताले बताएका छन् । अझै धेरै बमबारीले भत्काएको भग्नावशेषमा फसेका हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । फसेकाहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । 

अन्तर्राष्ट्रिय मिडियाले प्रसारण गरेका भिडियो फुटेजमा साना बालबालिकासहित घाइते व्यक्ति बोकेका स्ट्रेचर खान युनुसस्थित नासेर अस्पतालमा दौडिरहेको देखाइएको छ । सेतो तन्नाले ढाकिएका शवलाई पनि अस्पतालको शवगृहमा लगिएको थियो । 

‘हमासले हाम्रा बन्धक रिहा गर्न बारम्बार अस्वीकार गरेपछि र अमेरिकी राष्ट्रपति दूत स्टिभ विटकफ तथा मध्यस्थकर्ताबाट प्राप्त सबै प्रस्ताव अस्वीकार गरेपछि सैन्य अप्रेसनको आदेश दिइएको हो,’ प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजरायलले अबउप्रान्त बढ्दो सैन्य शक्तिका साथ हमासविरुद्ध कारबाही गर्नेछ ।’

इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । एक इजरायली अधिकारीले सैन्य अभियान ‘जति आवश्यक छ, त्यति समयसम्म जारी रहने’ र ‘हवाई आक्रमणभन्दा बढी हुने’ अपेक्षा गरिएको बताए । 

See More On

सुझावित समाचार