सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड पुगेको छ । सार्वजनिक ऋण व्यस्थापन कार्यालयले मंगलबार सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार चालू आवको आठ महिनामा मात्रै दुई खर्ब ४१ अर्ब ९४ करोड सार्वजनिक ऋण बढेको छ । गत आवको अन्त्यसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड थियो । समीक्षा अवधिमा सरकारको ऋण प्राप्ति तीन खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ छ । यो अवधिमा ऋण भुक्तानी भने एक खर्ब ५८ अर्ब ९८ करोड छ । 

यसैगरी, विदेशी मुद्राको विनिमय दरमा आएको वृद्धिले ऋणको दायित्वको ६६ अर्ब २९ करोड थपिएको थियो । आन्तरिक ऋण १३ खर्ब १५ अर्ब ५७ करोड र विदेशी ऋण १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ छ । 

त्यस्तै, आन्तरिकतर्फ एक खर्ब ३४ अर्ब ४७ करोड र बाह्यतर्फ २४ अर्ब ५० करोड ऋण भुक्तानी गरेको छ । यो साँवा भुक्तानी मात्रै हो । यस अवधिमा आन्तरिकतर्फ ३६ अर्ब ९७ करोड र बाह्यतर्फ पाँच अर्ब ७७ करोड रुपैयाँ गरेर कुल ४२ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ ब्याज भुक्तानी भएको छ । साँवा–ब्याज गरेर कुल दुई खर्ब एक अर्ब ७२ करोड रुपैयाँ भुक्तानी भएको छ । 

यो वर्ष सरकारले ऋणको साँवा–ब्याज तिर्न चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ । त्यसमा फागुन मसान्तसम्ममा विनियोजनको ५०.०८ प्रतिशत खर्च भएको छ । यसअनुसार अझै सरकारले दुई खर्ब एक अर्ब १२ करोड रुपैयाँ ऋण तिर्नुपर्नेछ । त्यसमा साँवा एक खर्ब ४० अर्ब ७४ करोड र ब्याज ६० अर्ब ३७ करोड रुपैयाँ छ । 

सरकारले चालू आर्थिक वर्षमा कुल पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । जसमा फागुन मसान्तसम्म तीन खर्ब ३४ अर्ब ६२ करोड प्राप्ति भएको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ६१.१७ प्रतिशत हो । 

यस वर्ष तीन खर्ब ३० अर्ब आन्तरिक ऋण परिचालनको लक्ष्य लिइएकोमा फागुन मसान्तसम्ममा ८१.५६ प्रतिशत अर्थात् दुई खर्ब ६९ अर्ब ९१ करोड उठाइएको छ । त्यस्तै, दुई खर्ब १७ अर्ब बाह्य ऋण परिचालनको लक्ष्य लिइएकोमा ३०.१७ प्रतिशत अर्थात् ६५ अर्ब ४७ करोड उठाएको छ । वार्षिक लक्ष्यअनुसार सरकारले बाँकी चार महिनामा ६० अर्ब ८४ करोड आन्तरिक र एक खर्ब ५१ अर्ब ५२ करोड बाह्य गरी कुल दुई खर्ब १२ अर्ब ३७ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्न सक्नेछ ।

सुझावित समाचार