नयाँ शैक्षिक सत्रका लागि १२ चैतदेखि पुस्तक वितरण सुरु गरिने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको गोदाममा रहेका किताब पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षाको समन्वयमा वितरण सुरु गर्न लागिएको हो । सरकारी विद्यालयमा कक्षा एकदेखि १२ सम्म पढ्ने विद्यार्थीले निःशुल्क पुस्तक पाउँछन् ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार शुक्रबार बसेको बैठकले १२ चैतदेखि वितरण गर्ने निर्णय गरेको हो । बैठकमा पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रतिनिधि सहभागी थिए ।
‘गत वर्ष १५ चैतबाट पुस्तक वितरण सुरु गरिएको थियो । यस वर्ष भने १२ चैतदेखि नै वितरण थाल्ने तयारी छ,’ श्रेष्ठले भने, ‘जनक शिक्षाको प्रबन्ध–निर्देशक नियुक्त हुन बाँकी रहेकाले आर्थिक पक्ष केही प्रभावित हुन सक्छ, तैपनि पुस्तक वितरण समयमै सम्पन्न गर्ने योजना छ ।’
- तिलबहादुर अधिकारी निर्देशक, जनक शिक्षा सामग्री केन्द्र
सबै कक्षाको किताब छापेर सकिएको छ । यदि वितरण गर्ने चरणमा अपुग भयो भने फेरि छाप्दै पठाउँदै गर्छौँ । वैशाखको पहिलो सातासम्म वितरण सकिन्छ ।
हाल कक्षा नौ र १० का लागि सात विषय, कक्षा चारदेखि आठसम्मका लागि ६ विषय र कक्षा एकदेखि तीनसम्मका लागि चार विषयका पुस्तक छापिएका छन् । तर, कक्षा एक, दुई र चारका केही पुस्तक भने जनक शिक्षाले यस वर्ष छापेको छैन ।
नयाँ शैक्षिक सत्र ०८१/८२ का लागि जनक शिक्षाले कुल एक करोड ७० लाख पुस्तक छापेको छ । जनक शिक्षा सामग्री केन्द्रका निर्देशक तिलबहादुर अधिकारीका अनुसार कक्षाअनुसार औसत २५ देखि ३० लाख थान पुस्तक आवश्यक पर्ने हुन्छ ।
‘सबै कक्षाको किताब छापेर सकिएको छ । यदि वितरण गर्ने चरणमा अपुग भयो भने फेरि छाप्दै पठाउँदै गर्छौँ,’ जनक शिक्षा सामग्री केन्द्रका निर्देशक तिलबहादुर अधिकारीले भने, ‘वैशाखको पहिलो सातासम्म वितरण सकिन्छ ।’
पुस्तक वितरणमा मुख्य विक्रेता जनक शिक्षा सामग्री केन्द्र हुनेछ । सातै प्रदेशमा यसका कार्यालय छन् । केन्द्रले सातै प्रदेशका कार्यालयमा किताब पुर्याउनेछ । त्यहाँबाट जिल्ला–जिल्लामा ढुवानी हुनेछ ।
ढुवानी गर्नका लागि ढुवानीकर्ता तथा एजेन्ट तोकिएको छ । यसपटक देशभर एक हजार दुई सय एजेन्टले पुस्तक ढुवानी गर्नेछन् । उनीहरूले किताब विद्यालय–विद्यालयसम्म पुर्याउनेछन् ।
एजेन्ट तथा ढुवानीकर्ताले विद्यालय पुर्याएबापत किताबको मूल्यको नौ प्रतिशत शुल्क राख्ने गर्छन् भने अन्तरजिल्ला ढुवानी गरेको भाडा केन्द्रले छुट्टै दिने गर्छ । कक्षा एक, दुई र चारको किताब निजीले छापे पनि पाठ्यक्रम विकास केन्द्रसँगको समन्वयमा बिक्री–वितरण हुन्छ । तर, छपाइ र ढुवानी गर्दा लागेको रकम जनक शिक्षाले निजी क्षेत्रलाई दिन्छ ।
एक, दुई र चार कक्षाका किताब छाप्ने जिम्मा निजी प्रेसलाई
विगतका शैक्षिक वर्षमा पाँच कक्षासम्मका पुस्तक निजी प्रकाशनले छाप्दै आएकोमा यसपटक दुईवटा कक्षा कटौटी गरिएको छ । अहिले निजीले कक्षा एक, दुई र चारको छाप्ने जिम्मा पाएका छन् । १० कात्तिकमा बसेको शिक्षामन्त्रीस्तरीय बैठकले निजीलाई दिएको छपाइ कटौती गरेको थियो । निजीले छाप्दा एकातिर धेरै शुल्क र अर्कोतिर धेरै त्रुटि भेटिएपछि मन्त्रालय केही कक्षा कटौटी गरेको हो । अर्को वर्षदेखि निजीलाई नदिई सबै कक्षाका पाठ्यपुस्तक जनक शिक्षाले नै छाप्ने तयारी छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक श्रेष्ठले जनक शिक्षाले सबै तहको पुस्तक छाप्न सक्ने अवस्था भएपछि निजीलाई कुनै तहको पुस्तक छाप्न नदिने बताए ।
सबै कक्षाको किताब छापेर सकिएको छ । यदि वितरण गर्ने चरणमा अपुग भयो भने फेरि छाप्दै पठाउँदै गर्छौँ । वैशाखको पहिलो सातासम्म वितरण सकिन्छ ।