परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मिहाई पोपसोईसँग नयाँदिल्लीमा भेटवार्ता गरेकी छिन्। भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबिच मंगलबार भेटवार्ता भएको हो।
भेटका क्रममा नेपाल–मल्दोभाबिचकाे सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो। सो अवसरमा मन्त्री डा. राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्नेबारेमा कुराकानी गरेकी थिइन्।
मन्त्री डा. राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहायताबारे पनि जानकारी दिएकी थिइन्। साथै उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्यलगायतमा दिएको उम्मेदवारीबारे जानकारी दिँदै त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह पनि गरेकी थिइन्।
मन्त्री डा. राणाले यसै हप्ता हुन लागेको विदेशमन्त्री मिहाई पोपसोईको नेपाल भ्रमणबाट पनि दुई देशबिचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा राखेकी थिइन्।