परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्यएसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँदिल्लीमा आज भेटवार्ता गरेकी छिन् ।
भारतको विदेश मन्त्रालयद्वारा नयाँदिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबिच आज साइडलाइन भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीसँगै मन्त्री डा. राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिन् । विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको स्मरण गराउँदै उनले विपिनको रिहाइका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको जानकारी दिएकी थिइन् ।
इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिनलाई सन् २०२३ को अक्टोबरमा हमासहरूले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए । उनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । विश्वका नेता एवं आफ्ना समकक्षीहरूसँगको भेटमा मन्त्री डा. राणाले विपिन रिहाइका लागि सहयोगको याचना गर्दै आएकी छिन् । सो भेटवार्ताका क्रममा वरिष्ठ सुरक्षा निर्देशक रिकीले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।