नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ।
शनिबार महाधिवेशनस्थल खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले उम्मेदवारी दर्ताको समयतालिका सार्वजनिक गरेका हुन्। उनका अनुसार उम्मेदवारी दर्ता सम्पन्न भएपछि निर्वाचन आयोगले मतदानको समय निर्धारण गर्नेछ।
उम्मेदवारी दर्ताअघि नै पार्टीको विधान संशोधन प्रक्रिया टुंग्याइने कांग्रेसले जनाएको छ। नयाँ विधानअनुसार उम्मेदवारी दर्ता हुने भएकाले बन्दसत्रमा विधान संशोधनको प्रस्ताव पेस गरी पारित गरिने प्रवक्ता चालिसेले बताए।
कांग्रेसले महाधिवेशनबाट पार्टीका केही पदाधिकारी थप तथा पद संरचनामा परिवर्तन गर्ने तयारी गरेको छ। उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या विधान संशोधनपछि तय हुने बताइएको छ।
विधान संशोधनका लागि महामन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले तयार पारेको प्रस्तावमा केन्द्रीय समितिले छलफल गरी अन्तिम रूप दिएपछि महाधिवेशनको बन्दसत्रमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ।
७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
प्रवक्ता चालिसेका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। यो कांग्रेसको इतिहासमै सबैभन्दा ठुलो प्रतिनिधि सहभागिता भएको उनको दाबी छ।
महाधिवेशनमा मतदानका लागि राष्ट्रिय सभा गृह, नेपाल प्रज्ञा–प्रतिष्ठान र उद्घाटन समारोह हुने स्थल गरी तीन स्थानमा मतदान केन्द्र तोक्ने तयारी गरिएको छ। भूगोलका आधारमा प्रतिनिधिहरूलाई मतदान केन्द्र निर्धारण गरिनेछ।
मतदान ब्यालेटमार्फत गर्ने र मतगणना पार्टी केन्द्रीय कार्यालयमा गर्ने तयारी रहेको कांग्रेसले जनाएको छ।
महाधिवेशन व्यवस्थापनको तयारी तीव्र
महाधिवेशनलाई व्यवस्थित बनाउन व्यवस्थापनको काम भइरहेको कांग्रेसले जनाएको छ। प्रतिनिधि तथा सहभागीका लागि राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।
ठुला बसका लागि माइतीघर–भद्रकाली सडकखण्डमा पार्किङको व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ। महाधिवेशनसम्बन्धी सूचना प्रवाहका लागि मिडिया सेन्टरसमेत स्थापना गरिएको छ।
मिडिया सेन्टरमार्फत दैनिक दुईपटक महाधिवेशनका गतिविधिबारे जानकारी गराइने प्रवक्ता चालिसेले बताए।