महोत्तरीमा चैत १० गते स्ववियु निर्वाचन, उम्मेदवारी दर्ता सम्पन्न

मंगलबार, ४ चैत, २०८१
डिजिटल संस्करण

स्ववियु निर्वाचन हुने महोत्तरीको एक मात्र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको यालना विद्यापीठ मटिहानीमा चैत १० गते मतदान हुने भएको छ। निर्वाचनका लागि सोमबार नै उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ।

निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को तर्फबाट अध्यक्षमा मृत्युञ्जयकुमार मिश्र, सचिवमा हेमन्तप्रसाद कोइराला र कोषाध्यक्षमा व्रजभूषणकुमार झाले उम्मेदवारी दिएका छन् भने लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ)बाट अध्यक्षमा सर्वेशकुमार झा, सचिवमा खगेन्द्रप्रसाद उपाध्याय र सदस्यहरूमा राहुलकुमार मिश्र, चन्दनकुमारी, रोमाकुमारी मण्डल र छोटीकुमारीले उम्मेदवारी दिएका छन्।

त्यस्तै, नेविसंघबाट कोषाध्यक्षमा आशिषकुमार झाको उम्मेदवारी परेको छ। उक्त संगठनले अन्य पदमा उम्मेदवारी दिएको छैन। सदस्यमा लोविसंघबाहेकको उम्मेदवारी नपरेकाले चारजना निर्विरोध निर्वाचित भइसकेका छन्। 

यद्यपि, आधिकारिक घोषणा भने नभएको निर्वाचन अधिकृत क्याम्पसका उपप्राध्यापक सीताराम पौडेलले जानकारी दिए।

सुझावित समाचार