सल्यानको त्रिवेणी गाउँपालिकाले नौ सयजना बढी ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । ज्येष्ठ नागरिकसँग त्रिवेणी गाउँपालिकाले एक कार्यक्रममार्फत पालिकाभित्र रहेका ९३२ ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला गरेर सम्मानका साथै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
ज्येष्ठ नागरिकको सीप, अनुभव र भोगाइलाई पुस्तान्तरण गर्न ज्येष्ठ नागरिकको सम्मान गरिएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले जानकारी दिए । उनले भने, ‘ज्येष्ठ नागरिकसँग मानव मूल्य र मान्यता, सांस्कृतिक तथा सामाजिक सभ्यताको दरिला सम्बन्ध कायम रहेको हुन्छ । समाजको हरेक विकासको गति र तीव्रतामा पनि ज्येष्ठ नागरिकको भूमिका अतुलनीय रहँदै आएको छ ।’
त्रिवेणी गाउँपालिकाको चालू आर्थिक वर्षको कार्यक्रमअनुसार पालिकाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान, उनीहरूको निःशुल्क स्वास्थ्य चेकजाँच, परिचयपत्र वितरणलगायतका कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए । वृद्धवृद्धाहरूमा एक–आपसमा मनका भावना, विगतका सम्झनालाई ताजा गराउन र नयाँ पिँढीलाई परम्परागत संस्कृति हस्तान्तरण गर्न पालिकाभित्रका सबै ज्येष्ठ नागरिकलाई भेला गराई सम्मान गरेको बताए। उनले भने, ‘एउटा उदाहरणीय र सहयोगी समाजलाई बढावा दिनका लागि पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्नु अति आवश्यक रहन्छ ।’
स्वास्थ्य शिविर सम्पन्न, ४७७ जनाको स्वास्थ्य चेकजाँच
ज्येष्ठ नागरिक सम्मान कार्यक्रमसँगै पालिकाले ज्येष्ठ नागरिकहरूका लागि एकदिने निःशुल्क स्वास्थ्य चेकजाँचसमेत गरेको छ । शिविरमा ४७७ ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण गरेको त्रिवेणी गाउँपालिकाले जनाएको छ । शिविरमा १४७ जना कान, १५८ जना आँखा र ९९ महिला र ७३ पुरुष गरी १७२ जनाको स्वास्थ्य परीक्षण गरिएको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले जानकारी दिए उनका अनुसार कानका १४७ विरामीमध्ये २७ जनालाई थप उपचारका लागि रेफर गरिएको छ ।
ज्येष्ठ नागरिकलाई घरदैलोमा नै स्वास्थ्य सेवा दिने उद्देश्यअनुरूप निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले जानकारी दिए। त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने, जीवनस्तर सुधार्ने, उनीहरूको अधिकारको संरक्षण गर्ने र उनीहरूको भलाइका लागि विभिन्न सामाजिक, आर्थिक र स्वास्थ्य सेवा सुविधाहरू उपलब्ध गराउँदै आइरहेको बताए।