कांग्रेसको भातृ संस्था राष्ट्रिय अपांग लोकतान्त्रिक संघ मधेश प्रदेशको प्रथम अधिवेशन महोत्तरीको बर्दीवासमा सुरु भएको छ । अधिवेशनको उद्घाटन कांग्रेस मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले सोमबार गरेका छन् ।
सो क्रममा उनले मन्दिर रोजेर पुजा नगर्नु देउता सबै एउटै हुन्छ, अपांग भनेर हेला नगर्नु आत्मा सबैको एउटै हुन्छ भन्ने मान्यता रहे पनि मधेश प्रदेशमा विपरित कार्य भइरहेको दुखेसो गरे । उनले भने, ‘हामी अधिकारका कुरा गर्छौँ, तर मधेश प्रदेशमा अपांगता भएका व्यक्तिहरूलाई अधिकारबाट वञ्चित गरिएको छ। अपांगता भएका व्यक्तिको आडमा जातिवाद, नातावाद, कृपावादले चरम रूपमा जरो गाडिसकेको अवस्थामा बहुसंख्यक अपांगहरू समुचित हक अधिकार पाउनबाट वञ्चित बनेका छन्।’
गुप्ताका अनुसार अहिलेका मुख्यमन्त्री सस्तो लोकप्रियता कमाउने उद्देश्य तथा जनताको ध्यानलाई दिग्भ्रमित बनाउन निजी अस्पतालमा चेकजाँचको नाममा अराजकता मचाउँदैछ छन् । ‘म च्यालेन्ज गर्न चाहन्छु,’ उनले भने, ‘मुख्यमन्त्री सतिशकुमार सिंहलाई यदि हिम्मत छ भने प्रदेश सरकारमातहतमा सञ्चालित अस्पतालमा कार्यरत चिकित्सकहरूद्वारा सञ्चालन भएका निजी अस्पतालहरू बन्द गरेर देखाउनुहोस्।’
समाजिक विकास मन्त्रालयबाट अपांगका नाममा विनियोजन भएका बजेटहरूलाई दुरुपयोग गर्ने गरिएको आरोप लगाउँदै उनले मधेशका अपांगहरू यत्रतत्र भौँतारिइरहे पनि सेवा सुविधाबाट वञ्चित हुँदै आएको बताए।