मेरो कार्यकालमा धेरै ‘क्राइसिस’ आए, जति गर्न सकेँ सन्तुष्ट छु

सोमबार, ३ चैत, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका ३० औं प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर ३० वर्षे सेवाहदका कारण सोमबारदेखि अनिवार्य अवकाशमा जाँदैछन्। २०५१ सालमा इन्सपेक्टर पदबाट भर्ना भएका उनले २ वर्ष नेपाल प्रहरीको नेतृत्व गरे। आफ्नो कार्यकालमा प्रहरीलाई बलियो बनाउन सक्दो प्रयास गरेको उनी बताउँछन्। दुई वर्षका अनुभवबारे कुँवरसँग गरिएको संक्षिप्त कुराकानी–

आफ्नो दुईवर्षे कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 
दुई वर्षमा गर्नुपर्ने काम धेरै थिए, विविध कारणले गर्न सकिनँ होला । मेरो कार्यकालमा आएका धेरै ‘क्राइसिस’लाई सफलतापूर्वक व्यवस्थापन गरेँ । आन्तरिक व्यवस्थापनमा सुधार भएका छन् । सरुवा मापदण्ड लागू गरियो । प्रहरी ऐन संसद्मा टेबुल भएको छ । एमपिएस पनि सुरु गर्न सफल भएका छौँ । पूर्वप्रहरी कर्मचारीलाई पनि निःशुल्क उपचारको व्यवस्था गरिएको छ । कठिन अवस्थामा जे–जति गर्न सकेँ त्यसमा सन्तुष्ट छु । 

ठुला मुद्दाको अनुसन्धानमा गृह मन्त्रालय हाबी हुँदै गयो भन्ने छ नि ? 
नेपाल प्रहरीले व्यावसायिक आचरणअनुसार नै अनुसन्धान गरेको छ । अनुसन्धानका आन्तरिक विषयमा मैले धेरै बोल्न मिल्दैन ।

सरुवा–बढुवामा पनि हस्तक्षेप रोक्न सक्नु भएन भन्ने छ  । 
यो विषयमा अलिकति पीडा छ। तर, जति गर्न सके त्यसमा सन्तुष्ट छु। 

आफूले चाहेर पनि पूरा गर्न नसकेका केही योजना छन् ? 
प्रहरी ऐनमा कतिपय विषय चाहेअनुसार भए, कति भएका छैनन् । आर्थिक अपराध अनुसन्धानका लागि छुट्टै ब्युरो स्थापना गर्ने योजना थियो । यो कसैको प्राथमिकतामा परेन । मुलुक अहिले आर्थिक अपराध र अनौपचारिक आर्थिक कारोबारको वरिपरि घुमिरहेको छ । देश ग्रे लिस्टमा पर्नुको कारण यो पनि हो । मैले धेरैपटक यस्तो ब्युरो बनाउँछु भनेर पनि बताएँ, तर राज्यको प्राथमिकतामा नपरेपछि सफल हुन सकिनँ । प्रहरी कल्याणका लागि मैले सेनामा जस्तै प्रहरी कल्याणकारी बोर्ड बनाएर पूर्वप्रहरीलाई समेत जिम्मेवार बनाएर यसलाई स्वतन्त्रपूर्वक सञ्चालन गर्ने प्रयास गरेको थिएँ, त्यो अधुरै रह्यो ।
 

सुझावित समाचार