उपभोक्ता अदालतमा पहिलो दिन नै तीन उजुरी

तीन महिनाभित्र मुद्दा छिनोफानो गर्नुपर्ने प्रावधानका कारण छिटो न्यायसम्पादन हुने अपेक्षा

सोमबार, ३ चैत, २०८१
डिजिटल संस्करण
उपभोक्ता अदालतमा पहिलो दिन नै तीन उजुरी

त्रिपुरेश्वरस्थित उद्योग विभागपरिसरमा कार्यालय रहेको अदालतको अध्यक्षमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद शर्मा छन्

शनिबार मात्रै उद्घाटन गरिएको उपभोक्ता अदालतमा पहिलो दिन आइतबार नै तीन उजुरी दर्ता भएका छन् । चाँदीको मूर्ति खरिदमा ठगी भएको, अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको र सवारीसाधनको मर्मतमा लापरबाही भएको भन्दै क्षतिपूर्ति मागदाबी गरेर परेका उजुरी दर्ता भएका हुन् । 

तीनै उजुरी दर्ताका लागि उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीले समन्वय गरेका छन् । मञ्चका महासचिव विष्णु तिमिल्सिनाका अनुसार चाँदीको मूर्ति खरिद गर्दा ठगिएको महसुस गरेपछि उपभोक्ता साताभित्रै फिर्ता गर्न जाँदा विक्रेताले आधा मात्रै रकम दिएको घटनामा उजुरी दर्ता भएको छ । उनका अनुसार ललितपुरको गोदावरी नगरपालिका– १३ बस्ने सावित्री खत्री थापाले विशालबजारको स्वस्तिक सिल्भर प्यालेसबाट २५ फागुनमा १.१ तोलाको चाँदीको मूर्ति चार हजार ६ सय रुपैयाँमा खरिद गरेकी थिइन् । प्रचलित बजार मूल्यभन्दा बढी दर लिएको आशंकामा उनले १ चैतमा फिर्ता गर्न लैजाँदा सिल्भर प्यालेसले आधा रकम काटेर दुई हजार दुई सय २५ रुपैयाँ मात्रै दिएको उजुरीमा उल्लेख छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १४ उपदफा १ मा साताभित्रै वस्तु फिर्ता गर्न खोजे विक्रेताले लिनुपर्ने, अन्यथा उपभोक्ताले क्षतिपूर्ति दाबी गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कुल ३५ हजार सात सय क्षतिपूर्ति दाबी गर्दै थापाले उजुरी दिएकी हुन् । त्यस्तै, काठमाडौं– १३ का वसन्त गौतमले चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको चिकित्सकीय लापरबाहीले पिता हरिहरप्रसादको मृत्यु भएको भन्दै पाँच करोड क्षतिपूर्ति दाबी गर्दै उजुरी दर्ता गरेका छन् ।

गत ५ माघमा घरकै बाथरुममा लडेका हरिहरलाई उपचारका लागि ओम अस्पताल लगिएकोमा एक्स–रे गरेर हेर्दा सामान्य फ्याक्चर भन्दै नदुख्ने औषधि दिएर पठाएको उजुरीमा उल्लेख छ । तर, चार दिनसम्म दुखाइ कम नभएपछि ह्याम्स अस्पतालमा लगिएको र त्यहाँका डाक्टरले ओम अस्पतालको एक्स–रे रिपोर्टमा फ्याक्चर भएको प्रस्ट देखिए पनि उपचार गर्नुको सट्टा सामान्य औषधि मात्रै दिएर पठाउनु गल्ती भएको बताएका थिए । उपचार गर्न ढिलाइ भए पनि ह्याम्सका चिकित्सकसँगको सल्लाहमा हरिहरको घरमै उपचार गर्दा निधन भएको थियो । ओम अस्पतालले समयमै उपचार नगर्दा आफ्नो पिताको मृत्यु भएको भन्दै वसन्तले उपभोक्ता अदालतमा ओम अस्पतालविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

त्यस्तै, ललितपुर– १८ सिद्धिविनायक कोलनी बस्ने रामसागर यादवले ७ माघ ०८० मा खरिद गरेको सुजुकी ग्रान्ड भिटारा कार असोजको बाढीले डुबान पारी बिगारेको र मर्मत गर्न दिएको पाँच महिनासम्म पनि सिजी मोटो कर्पबाट कार पाउन नसकेको उजुरी दर्ता गरेका छन् । विभिन्न बहाना बनाएर कार मर्मत नगरेको र नयाँ कारसमेत नदिएकाले खरिद मूल्य ६२ लाख ६९ हजार रुपैयाँ फिर्ता मागदाबी गर्दै उजुरी दिएका छन् ।अधिवक्तासमेत रहेका मञ्चका महासचिव तिमिल्सिनाका अनुसार उजुरी दर्ता भएपछि विपक्षीलाई लिखित कारण पेस गर्न अदालतले आदेश दिनेछ । लिखित आदेशपछि दुवै पक्षका वकिलहरूले बहस गर्नेछन् ।

चाँदी किन्दा ठगिएको, अस्पतालको लापरबाहीले मृत्यु भएको र मर्मत गर्न दिएको गाडी फिर्ता नपाएको भन्दै क्षतिपूर्ति माग
उजुरी १ ललितपुरको गोदावरी नगरपालिका– १३ बस्ने सावित्री खत्री थापाले विशालबजारको स्वस्तिक सिल्भर प्यालेसविरुद्ध उजुरी दर्ता गरेकी छिन् । गत २५ फागुनमा १.१ तोला चाँदीको मूर्ति चार हजार ६ सय रुपैयाँमा खरिद गरेकोमा प्रचलित बजार मूल्यभन्दा बढी लिएर ठगिएको महसुस गरेपछि एक साताभित्रै १ चैतमा फिर्ता गर्न गएको, तर ज्याला, जर्तीलगायत कट्टा गरी दुई हजार दुई सय २५ मात्रै फिर्ता दिएको भन्दै ३५ हजार सात सय क्षतिपूर्ति मागेर उजुरी दिएकी हुन् ।

 उजुरी २ गत ५ माघमा बाथरुममा लडेर घाइते भएका 
काठमाडौं महानगरपालिका– ३ का ९८ वर्षीय हरिहरप्रसाद गौतमको उपचारमा चाबहिलस्थित ओम अस्पतालले चिकित्सकीय लापरबाही गर्दा मृत्यु भएको भन्दै छोरा वसन्तले अस्पतालसँग पाँच करोड क्षतिपूर्ति मागेर उजुरी दर्ता गरेका छन् । एक्स–रे गर्दा फ्याक्चर देखिए पनि चिकित्सकले नदुख्ने औषधि दिएर पठाएको, तर चार दिनसम्म दुखाइ कम नभएपछि १० माघमा ह्याम्स अस्पताल लैजाँदा फ्याक्चरको उपचार गर्न ढिलाइ भएको जानकारी त्यहाँका चिकित्सकले दिएको र त्यसपछि घरमै उपचार गर्ने क्रममा मृत्यु भएको भन्दै वसन्तले आर्थिक, मानसिक र शारीरिक हानिबापत क्षतिपूर्ति मागदाबी गरेका छन् ।
 
उजुरी ३ ललितपुर– १८ सिद्धिविनायक टोल बस्ने रामसागर यादवले ७ माघ ०८० मा खरिद गरेको सुजुकी ग्रान्ड भिटारा कार गत असोजको बाढी घरमै पस्दा डुबाएको, मर्मतका लागि विक्रेता कम्पनी सिजी मोटो कर्पको सर्भिस सेन्टरमा दिए पनि अहिलेसम्म फिर्ता नपाएको र विकल्पमा नयाँ कार पनि नपाएको भन्दै खरिद मूल्य ६२ लाख ६९ हजार मागदाबीसहित उजुरी दर्ता गरेका छन् । 

सुझावित समाचार