ट्रम्पविरुद्ध युरोपको साथ खोज्दै क्यानडाका प्रधानमन्त्री कार्नी

सोमबार, २ चैत, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सार्वभौमिकता र अर्थतन्त्रमाथि गरेको आक्रमणको सामना गर्दै मित्रताको खोजी गर्न क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नी सोमबार पेरिस र लन्डन जाँदै छन् । 

क्यानडाको प्रारम्भिक अस्तित्वलाई आकार दिने दुई देशको राजधानी सहरहरूमा कार्नीले जानाजानी आफ्नो पहिलो विदेश भ्रमण गर्दै छन्। 

शुक्रबार आफ्नो शपथग्रहण समारोहमा कार्नीले फ्रान्सेली, अंग्रेजी र आदिवासी गरी तीन जनताको आधारशिलामा देश निर्माण भएको उल्लेख गर्दै क्यानडा अमेरिकाभन्दा मौलिक रूपमा भिन्न रहेको र ‘कुनै पनि आकार वा रूपमा कहिल्यै पनि संयुक्त राज्यको हिस्सा हुनेछैन’  भनेका थिए। 

‘ट्रम्प फ्याक्टर नै यस यात्राको कारण हो । ट्रम्प फ्याक्टरले कार्नीले सामना गर्नुपर्ने अरू सबै कुरामा प्रभुत्व जमाउँछ,’ टोरन्टो विश्वविद्यालयका प्राध्यापक इमेरिटस नेल्सन वाइजम्यानले भने। 

५९ वर्षीय पूर्वकेन्द्रीय बैंकरले सोमबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्नेछन्। त्यसपछि लन्डन जाने भ्रमण तालिका छ । लन्डनमा बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग बसेर व्यापार विविधिकरण र सम्भवतः ट्रम्पको भन्सार महसुलको प्रतिक्रियाको समन्वय गर्ने प्रयास गर्ने बताइएको छ । 

 उनले बेलायती नरेश चार्ल्स तृतीयसँग पनि भेट गर्नेछन् । चार्ल्स तृतीय क्यानडाका राज्य प्रमुख  हुन् । कार्नी बैंक अफ इंग्ल्यान्डका पूर्वगभर्नरसमेत  भएकाले इंग्ल्यन्डको यात्रा केही हदसम्म घर फर्किएजस्तै हो । बैंकको तीन सय वर्षभन्दा बढीको इतिहासमा यस भूमिकामा नियुक्त हुने उनी पहिलो गैरनागरिक हुन्। 

त्यसपछि कार्नी ‘क्यानडाको आर्कटिक सुरक्षा र सार्वभौमिकतालाई पुनः पुष्टि गर्न’ ओटावा फर्कनुअघि क्यानडाको आर्कटिकको किनारको यात्रा  गर्नेछन् । त्यहाँ  उनले केही दिनभित्रै चुनाव घोषणा गर्ने अपेक्षा गरिएको छ । 

 ट्रम्पले क्यानडाको सार्वभौमिकताको सम्मान गरेमा उनीसँग भेट्न तयार रहेको कार्नीले बताएका छन् । हाल वासिङ्टन भ्रमण गर्ने योजना नरहेको, तर चाँडै राष्ट्रपतिसँग फोनवार्ता गर्ने आशा रहेको उनले बताए। 

पच्चीस प्रतिशतको व्यापक भन्सार महसुल र क्यानडालाई ५१औँ अमेरिकी राज्य बनाउने ट्रम्पको कुराले क्यानाडेलीहरूलाई क्रोधित बनाएको छ । धेरैले सकेसम्म अमेरिकी सामान किन्ने कुरालाई टार्दै छन् ।

कार्नीको सरकारले ट्रम्पको व्यापार युद्धको प्रकाशमा अमेरिकी निर्मित एफ– ३५ लडाकु विमानको खरिदको समीक्षा गरिरहेको छ । 
ट्रम्पले आर्थिक युद्धको घोषणा नगरेसम्म र क्यानडा ५१औँ राज्य बन्नुपर्छ भनेर बारम्बार नभनेसम्म सत्तारूढ लिबरल पार्टी यस वर्ष ऐतिहासिक चुनावी पराजयको लागि तयार देखिन्थ्यो । अब पार्टी र यसको नयाँ नेता शीर्षमा आउन सक्छन् ।

टोरन्टो विश्वविद्यालयका क्यानाडेली इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक रोबर्ट बोथवेलले कार्नीले ट्रम्पलाई भेट्न नजानु बुद्धिमानी हुने बताए। 
‘वासिङ्टन जाने कुनै अर्थ छैन,’ बोथवेलले भने, ‘(पूर्व प्रधानमन्त्री जस्टिन) ट्रुडोको व्यवहारले देखाएअनुसार त्यसबाट निस्कने परिणाम ट्रम्पले आफ्ना पाहुनाहरूलाई अपमान गर्ने अशिष्ट प्रयास मात्र हो । न त तपाईं त्यहाँ बसेर गलत झुट दोहोर्याउने कसैसँग तर्कसंगत कुराकानी गर्न सक्नुहुन्छ ।’

ट्रम्पले सम्मानको माग गर्ने भन्दै बोथवेलले  भने, ‘तर, यो प्रायः एकतर्फी मार्ग हो, जसले अरूलाई आफ्नो आत्मसम्मानलाई छोडेर आफ्नो इच्छामा झुक्न आग्रह गर्दछ ।’ 
मन्ट्रियलको म्याकगिल विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक डेनियल बेलान्डले संयुक्त राज्य अमेरिकासँगको जारी व्यापार युद्धबिच क्यानडाले व्यापार विविधिकरण गर्नु अत्यन्त आवश्यक रहेको  बताए । क्यानडाको ७५ प्रतिशतभन्दा बढी निर्यात अमेरिकामा जान्छ । 

बेलान्डका अनुसार आर्कटिक सार्वभौमिकता पनि क्यानडाका लागि प्रमुख मुद्दा हो । 
‘राष्ट्रपति ट्रम्पको क्यानडा र ग्रिनल्यान्ड दुवैबारे आक्रामक कुरा र ट्रम्पअन्तर्गत एक शक्तिशाली आर्कटिक शक्ति रुस र संयुक्त राज्य अमेरिकाबिचको स्पष्ट नजिकीकरणले यस दुर्गम, तर अत्यन्त रणनीतिक क्षेत्रमाथि हाम्रो नियन्त्रणबारे चिन्ता बढाएको छ,’ उनले भने। रासस 

सुझावित समाचार