महिला नेतृत्व सम्मेलन : समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आज  आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गरेकाले महिलाको समान सहभागिता आवश्यक भएकामा जोड दिए । 

‘रथको एउटा पांग्राे मात्रै चलेर रथ गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिंगाे समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई स्थापित गरिसकेका छौँ । राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । यो खुसीको विषय हो, तर हामी यसमा मात्रै सन्तुष्ट भएर बस्नुहुँदैन । हामीले शिक्षा, उद्यम र रोजगारीका क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ ।’

सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै उद्यम विकास तथा महिला सशक्तीकरणलाई प्रोत्साहन गरिएको बताउँदै उनले अर्थतन्त्रको विकासका साथै सुशासन प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘हामी अघि बढ्नुपर्छ । पछाडि फर्कनुहुँदैन । ब्याकगियर त कहिलेकाहीँ घुम्तीमा मात्रै लगाउने हो । लोकमार्गमा ब्याकगियर लगाइँदैन । लोकतन्त्र हाम्रो राजमार्ग हो ।’

प्रधानमन्त्रीले कानुनहरू काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझाव अध्ययन गरी सरकारका नीति, व्यवहार र कानुनहरूलाई परिष्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको सहकार्यमा औद्योगिकीकरणको प्रवर्द्धनलाई वर्तमान सरकारले प्राथमिकता दिएको बताए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र सामाजिक अभियन्ता रुक्साना कपालीलाई सम्मान गरे

सुझावित समाचार