गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपदबाट हुने क्षति घटाउन, सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र सरोकार भएका निकायको क्षमता अभिवृद्धिमा आफ्नो ध्यानकेन्द्रित रहेको बताएका छन्।
प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको २३ नम्बर बाहिनीले आज शनिबार म्याग्दीको मंगला गाउँपालिका-२, लाम्पाटा र वडा नं-५, हाडेभिरमा आयोजना गरेको प्रदेशस्तरीय विपत् प्रतिकार्य नमुना अभ्यास कार्यक्रममा उनले विपतबाट हुने क्षति घटाउन आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए।
'भौगोलिक विविधतायुक्त गण्डकीमा बाढीपहिरो, डुबान, आगलागी, हिउँ पहिराको जोखिममा रहेका स्थानको पहिचान गरी विपतको पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनका लागि सुरक्षा र सरोकार भएका निकायको क्षमता बढाउन प्रदेश सरकारले नेपाली सेनालगायत संगठित संघसंस्थाहरूसँगको सहकार्यमा जोड दिएका छौँ,' मुख्यमन्त्री पाण्डेले भने।
नेपाली सेनाको पश्चिम पृतनाका प्रमुख मधुकरसिंह कार्कीले विपत् व्यवस्थापनमा परिचालन हुने सुरक्षाकर्मीको क्षमता विकासका साथै समुदायस्तरमा चेतना अभिवृद्धिका लागि नमुना अभ्यास गरिएको बताए।
प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको नमुना अभ्यास प्रदर्शनीको स्थानीयवासीले अभिरुचिपूर्वक अवलोकन गरेका थिए। नेपाली सेनाको टोलीले विपत् प्रतिकार्यका १० वटा अभ्यास प्रस्तुत गरेको थियो।