जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले उनलाई सम्पन्न बनाउँदै छ

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

मकवानपुरका एक किसानले विदेशमा २३ वर्ष बिताएपछि आफ्नै माटोमा श्रम गरेर व्यावसायिक सफलता प्राप्त गरेका छन्। मकवानपुर, मनहरी गाउँपालिका–१, मकरीका ६१ वर्षीय देवराज न्यौपाने २३ वर्षसम्म भारतमा सवारीसाधन चलाउँदै पनि आर्थिक उन्नति गर्न असफल भएपछि स्वदेश फर्किनुपरेको थियो। कोरोना महामारीकै कारण नेपाल फर्किएका उनले बाँझो जमिनमा पसिना बगाएपछि अहिले वार्षिक लाखौँ आम्दानी गर्न सफल भएका छन्।

न्यौपानेले हाल मासिक करिब रु. एक लाख आम्दानी गरिरहेको बताएका छन्। भारतमा २३ वर्ष बिताउँदा हातमुख जोर्न मुस्किल भए पनि आफ्नै माटोमा मेहनत गर्दा छोटो समयमा सफलता हात परेको उनको अनुभव छ। दुई छोराछोरीको पठनपाठनदेखि परिवारको हरेक आवश्यकतासमेत सहज रूपमा पूरा हुन थालेको उनले बताएका छन्।

हाल उनले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरेका छन्। नौ कट्ठा जमिनमा ३०० गाँजा केराखेतीबाट वार्षिक रु. तीन लाखभन्दा बढी आम्दानी गरिरहेका छन् भने चार गाईबाट दैनिक ४० लिटर दुध बिक्री गरी वार्षिक करिब रु. नौ लाखको कारोबार गरिरहेका छन्। प्लास्टिक हाउस (टनेल) मा गोलभेँडा खेती, व्यावसायिक केराखेती तथा गाईपालन गर्दै आएका न्यौपानेले जैविक मलको प्रयोगबाट रासायनिक मलको खर्चसमेत घटाएका छन्।

चारवटा टनेलमा गोलभेँडा खेती र बन्दा उत्पादन गरिरहेका उनले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरी रु. दुई लाख पचास हजारसम्मको बिक्री गर्दै आएका छन्। न्यौपाने भन्छन्, 'सरकारले स्थानीय उत्पादन प्रोत्साहन गरे, लागत न्यूनीकरणमा सहुलियत प्रदान गरे, सीमापारिबाट आयात हुने सस्ता कृषिजन्य उत्पादनको नियमन गरे, किसानहरूको आयस्तर वृद्धि गर्न सकिन्छ।'

सुझावित समाचार