मौलिक फागु संरक्षणमा जुट्दै पाल्पाका स्थानीयवासी

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो ।
औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो ।
हाय हाय रगत के मसिया बनावे सखियाँ ।
धड्कन लाग्यो छाती हो ।
फागु खेलन हो…हुरी खेलन..। राजाको आँगनमा हुरी खेलन…

लोप हुन लागेका यी र यस्तै फागु गीत गाएर पाल्पाको तानसेन नगरपालिकाऔँ १३ छेर्लुङका टोल-टोलमा तीन दिनदेखि सर्वसाधारण फागु खेलिरहेका छन्। पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको चार/पाँच दिनअघिदेखि यी गीत गाउने परम्परालाई यहाँका युवा र पाका पुस्ता मिलेर ब्युँताइरहेका छन्। उनीहरू यस्ता गीत गाउँदै टोलबस्तीमा पुगिरहेका छन्।

छेर्लुङमा आज बिहानैदेखि युवा र पाका पुस्ता फागु गीत गाउँदै रमाइरहेको दृश्य देखिएको छ। उनीहरू ट्याम्को, ढोलक, मादल र मुजुराको तालसँगै लयबद्ध बनाउँदै, गाउँदै होलीको रङसँग रमाएका छन्।

आधुनिकता र प्रविधिको विकाससँगै होली खेल्ने प्रचलन बढेपछि मौलिक फागु हराउन लागेका वेला छेर्लुङवासी भने परम्परा सरंक्षणमा जुटेको स्थानीय किशोर भट्टराईले बताए। उनले भने, 'दुई/तीन दिनदेखि यहाँका युवा र पाका स्वतःस्फूर्त रूपमा सबै टोलमा समूह बनाएर उत्साहका साथ फागु सिकाउने, गाउने र नाच्ने गरिरहेका छन्।’

फागु खेलेर संकलित केही रकम साथीभाइ मिलेर रमाइलो गर्ने र बाँकी रकम सामाजिक कार्यमा खर्च गर्ने गरिने उनले बताए। यहाँ त्रेता युगमा भगवान विष्णुका भक्त प्रह्लादको कथामा आधारित भई फागु गीत गाउने प्रचलन छ।

फागु गीत भाका र ठाउँअनुसार फरक-फरक भए पनि टेम्को, ढोलक, डम्फु, मजुरा, मादल बजाएर गीतअनुसार नाचिने स्थानीय धनबहादुर भट्टराई बताउँछन्।

दुई दशकअघिसम्म पाल्पासहित पहाडी जिल्लाका विभिन्न गाउँ र टोलहरूमा यसरी गाइने मौलिक फागु अहिले सीमित समूह र टोलमा मात्रै देख्न पाइन्छ।

यहाँका चिदीपानी, भैरवस्थान, देउराली, खस्यौली, ख्याहा सोमादीको सर्देवा, बराङ्दीलगायतका गाउँमा टेम्को, ढोलक, डम्फु, मजुरा बजाएर फागु खेल्ने प्रचलन कायमै छ। यहाँ पाका पुस्ताले युवा पुस्तालाई सिकाउँदै आएका छन्।

सुझावित समाचार