कोशीविरुद्ध कुशलको अलराउन्ड प्रदर्शन

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई १५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । कुशलले ब्याटिङमा ६५ रन तथा बलिङमा दुई विकेट लिएका थिए । लगातार दुई जित निकालेको पुलिस तालिकाको दोस्रो स्थानमा छ । त्रिभुवन आर्मीले पनि दुई जित हात पारेको छ । रनरेटका आधारमा आर्मी शीर्ष स्थानमा छ । लगातार तीन खेल हारेको कोशी पुछारमा छ । बागमती प्रदेशले दुई खेल गुमाएको छ । 

भैरहवाको मैदानमा बुधबार पहिलो ब्याटिङ गरेको पुलिसले ५० ओभरमा आठ विकेट गुमाएर २८८ रन बनाएको थियो । प्रत्युत्तरमा कोशीले ३६.२ ओभरमा सबै विकेटको क्षतिमा १३४ रन मात्र जोडेको थियो । कोशीविरुद्ध करण केसीले आठ ओभरमा २९ रन दिँदै तीन विकेट लिए । ललित राजवंशीले सात ओभरमा १० रन खर्चंदै दुई विकेट लिए । खेलकै म्यान अफ दी म्याच कुशलले १.२ ओभरमा एक मेडन राखी दुई विकेट हात पारे । 

 नाम चलेका ब्याट्सम्यान टिके
राष्ट्रिय खेलाडीले भरिएको पुलिसले पहिलो ब्याटिङ गरेको थियो । अनुभवी खेलाडीले टोलीलाई ब्याटिङमा निराश बनाएनन् । ओपनर अर्जुन साउद र कुशलबिच पहिलो विकेटका लागि १३.१ ओभरमा ६९ रनको साझेदारी भयो । अर्जुनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरी ३८ रन जोडेका थिए । पुलिसले चौथो विकेटका रूपमा कुशललाई गुमाएको थियो । उनले कप्तान दीपेन्द्रसिंह ऐरीसँग चौथो विकेटका लागि ५६ रन जोडेका थिए । कुशलले ७८ बलमा समान दुई चौका र छक्का प्रहार गरे । 

यसैगरी, कप्तान दीपेन्द्रले ३९ बलमा ३२ रन बनाए । दिलीप नाथले ६४ बलमा चार चौका र एक छक्काको सहयोगमा ६१ तथा रासिद खानले २५ बलमा पाँच 
चौका र एक छक्काको मद्दतमा ३८ रनको योगदान दिए । कोशीको कमजोर ब्याटिङमा कप्तान अंकित सुवेदीले २१ तथा सूर्य थपलियाले ५२ बलमा ३३ रन बटुले । पुलिसका बलरले समग्रमा सात मेडन ओभर फ्याँकेका थिए । 

आर्मी आठ विकेटले विजयी
प्रतियोगिताअन्तर्गतको नवौँ खेलमा आर्मीले सुदूरपश्चिमलाई आठ विकेटले हराएको छ । सिद्धार्थनगर मैदानमा पहिलो ब्याटिङ गरेको सुदूरपश्चिम ४५.३ ओभरमा ११७ रनमा समेटियो । प्रत्युत्तरमा आर्मीले २३.५ ओभरमा दुई विकेटको नोक्सानीमा ११९ रन जोड्यो । आर्मीको जितमा सहाव आलमले घातक बलिङ गरेका थिए । उनले १९ रन खर्चेर सुदूरपश्चिमका चार विकेट लिए । सुदूरपश्चिमका निश्चल क्षेत्रीले १२१ बलमा ४९ रन जोडेका थिए । प्रत्युत्तरमा आर्मीका लागि सन्तोष कार्कीले ६३ बलमा १० चौकाको सहयोगमा ५५ रनको योगदान दिए । कप्तान विनोद भण्डारीले नटआउट २० रन जोड्न दुई चौका र एक छक्का प्रहार गरे । 

सुझावित समाचार