विद्युत् बक्यौता घटाउन बनाइएको समितिविरुद्धको बहस सकिएन, आइतबार तोकियो पेसी

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

उद्योगीको बक्यौता घटाउने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बनाएको जाँचबुझ समितिविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले छलफल सुरु गरेको छ । बुधबार न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा दुवै पक्षका वकिलहरूको बहस नसकिएपछि उक्त रिट हेर्दाहेर्दैमा राखिएको छ । अब उक्त रिटमा आइतबार पेसी तोकिएको छ । आइतबार वकिलहरूको बहस सकिएपछि आदेश जारी हुन सक्ने बताइएको छ । 

नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरूलाई बक्यौता तिर्न १२ मंसिरसम्मको समय  दिएको वेलामा ऊर्जामन्त्री दीपक खड्काले प्रा.डा. अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीनसदस्यीय बक्यौता जाँचबुझ समिति गठन गरेका थिए  । त्यसपछि प्राधिकरणले बक्यौता असुलीको कारबाही अघि बढाउन सकेको छैन । तर, उक्त समिति गठन कानुनी आधार नभएको भन्दै अधिवक्ता खडानन्द कँडेलले १३ मंसिरमा सर्वाेच्चमा रिट दर्ता गरेको थिए । त्यसको भोलिपल्ट  १४ मंसिरमा न्यायाधीश विनोद शर्माको इजलासले कारण देखाउ आदेश जारी गर्दै  अन्तरिम आदेशका लागि छलपल गर्न आदेश दिएको थियो । त्यसपछि २५ मंसिरमा न्यायाधिशद्वय तिल प्रसाद श्रेष्ठ र टेक प्रसाद ढुंगानाको संयुक्त इजालसले रिटलाई अग्राधिकार अर्थात् प्राथमिकतामा राख्ने आदेश दिएको थियो । 

यो रिटमा पछिल्लोपटक २८ माघमा तिलप्रसाद श्रेष्ठ र नित्यानद्य पाण्डेयको संयुक्त इजालसले पेसी सचुना दिने आदेश भएको थियो । विद्युत् नियमन आयोग ऐन, २०७४ ले जाँचबुझ तथा निरीक्षण गर्ने अधिकार स्पष्ट रूपमा आयोगलाई दिएको अधिवक्ता खडानन्द कँडेलले बताए । मन्त्रालयले ऊर्जासम्बन्धी सरकारी निकायको संयन्त्रबाहिरबाटै प्राधिकरणले जारी गरेको बिल जाँच गराउन समिति बनाएको थियो । तसर्र्थ, उक्त जाँचबुझ समिति खारेज गर्नुपर्ने मागसहित सर्वाेच्चमा रिट दर्ता गराएको उनको भनाइ  छ ।   

सुझावित समाचार