पाकिस्तानमा सशस्त्र लडाकुले मंगलबार रेल रोकेर त्यसमा सवार सयौँ यात्रुलाई बन्धक बनाएका छन् । दक्षिण–पश्चिम पाकिस्तानमा सक्रिय एक पृथकतावादी समूहले घटना गराएको छ ।
अफगानिस्तान र इरानको सीमासँग जोडिएको बलुचिस्तान प्रान्तको दुर्गम पहाडी क्षेत्रमा रेल नियन्त्रणमा लिने क्रममा लडाकुले चालकलाई घाइते बनाएका थिए । ‘रेलमा सवार ४५० भन्दा बढी यात्रुलाई बन्दुकधारीले बन्धक बनाएका छन्,’ बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका एक वरिष्ठ रेलवे अधिकारी मुहम्मद कासिफले एएफपीलाई बताए । घटना स्थानीय समयअनुसार दिउँसो १:०० बजे ग्रामीण सिबी जिल्लाको स्टेसननजिकै भएको अधिकारीले बताए ।
एक्सप्रेस नामको यात्रुवाहक रेललाई पहाडले घेरिएको सुरुङको ठिक अगाडि रोकेर नियन्त्रणमा लिइएको बताइएको छ । यो क्षेत्र पहाडी क्षेत्र हो, जसले गर्दा सशस्त्र बन्दुकधारीलाई लुक्न र आक्रमणको योजना बनाउन सजिलो हुन्छ । बन्दुकधारीले रेललाई नियन्त्रणमा लिनुअघि ट्र्याकमा बम विस्फोट गराएको बताइएको छ ।