उपत्यकामा ‘सेफ्टी ट्यांकी’ अभियान चलाउन आग्रह

बुधबार, २८ फागुन, २०८१
डिजिटल संस्करण

काठमाडौं उपत्यकाभित्र अब बन्ने घरमा अनिवार्य रूपमा ‘सेफ्टी ट्यांकी’ बनाउन उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जोड दिएका छन् । उनले मंगलबार उपत्यकाका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई बोलाएर अनिवार्य ‘सेफ्टी ट्यांकी’ अभियान चलाउन आग्रह गरेका हुन् । 

उनले सो क्रममा आगामी बजेटमा काठमाडौं उपत्यकाको समेट्नैपर्ने योजनाबारे पनि जनप्रतिनिधिसँग सुझाव मागेका थिए । उपप्रधानमन्त्री सिंहले काठमाडौं, भक्तपुर र ललितपुरका नगर प्रमुख र उपप्रमुखहरूसँग उपत्यकालाई व्यवस्थित र बस्नयोग्य सहर बनाउन, यहाँका नदी प्रणाली सुधार्न, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या हल गर्न प्रमुख र उपप्रमुखसँग छलफल पनि गरेका थिए । 

उनले उपत्यकाभित्र बग्ने नदीलाई सफा राख्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन ‘सेफ्टी ट्यांकी’ अभियान चलाउनुपर्ने बताए । ‘यहाँ बग्ने नदीलाई स्वच्छ बनाउनुपर्यो । त्यसका लागि अहिले जुन दुर्गन्ध छ, त्यसलाई हटाउन अनिवार्य ‘सेफ्टी ट्यांकी’ बनाउने अभियानमा लाग्नैपर्छ । नयाँ बन्ने घरमा सेफ्टी ट्यांकी बनाउनुपर्यो । जहाँ–जहाँ घर बनिसके, ठाउँ छैन भने १०–१५ घरको एक ठाउँमा सेफ्टी ट्यांकी बनाउनुपर्छ,’ उनले भने, ‘उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ । त्यसलार्ई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेफ्टी ट्यांकीको अभियान नै चलाउनैपर्छ । नत्र, नदी स्वच्छ हुँदैन, दुर्गन्ध हट्दैन ।’ 

बागमती र धोबीखोला सुधारमा अर्बौं रुपैयाँ खर्च भए पनि सुधार नभएको उल्लेख गर्दै उनले सहरी विकास मन्त्रालय सम्हालेदेखि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेको बताए । त्यसलाई सच्याउँदै सीधै ढल मिसाउन नदिन आवश्यक कामसमेत अघि बढाएको उनको भनाइ छ । छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता र सफाइ, सहरी पूर्वाधारको विकासमा आउने बजेटमा सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

सुझावित समाचार